गोलभेँडा खानुस, शुक्रकीटको गुण बढाउन सघाउँछ

असोज २८, एजेन्सी । गोलभेँडामा पाइने लाइकपीन नामक पोषक तत्त्वले पुरुषमा शुक्रकीटको गुण बढाउने एउटा अनुसन्धानले देखाएको छ। प्रत्येक दिन गोलभेँडाको दुई चम्चा गाढा लेदो ९प्युरी० सेवन गर्ने स्वस्थ पुरुषमा गुणात्मक रूपमा राम्रो शुक्रकीट बनेको पाइएको छ। 

सन्तान जन्माउन नसक्ने दम्पतीमध्ये आधाजसोमा पुरुषमा बाँझोपन भएको पाइन्छ। विज्ञहरूले पुरुषमा हुने बाँझोपनको समस्याबारे थप अध्ययन हुनुपर्ने औँल्याएका छन्। यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले बाँझोपनको समस्या भएका पुरुषलाई स्वस्थ जीवनशैली अवलम्बन गर्न तथा खुकुलो भित्रीलुगा लगाउन सल्लाह दिने गरेको छ। 

एनएचएसले गर्भाधानको सम्भावना बढाउन यथासम्भव तनाव घटाउन तथा महिलाको अण्डोत्सर्जनको बेलामा यौन सम्पर्क गर्न सुझाव दिएको छ। तर केही पोषक तत्त्वले पुरुषमा पुंसत्व बढाउने अवधारणा केही समययता प्रबल रूपमा देखिएको छ। 

Image result for गोलभेँडा

पहिलापहिला गरिएका अनुसन्धानहरू भिटामिन ई र जिङ्कको प्रभावमा केन्द्रित थिए। तिनमा जस्तै लाइकपीनमा पनि कोषलाई अक्सिजनबाट हानि पुग्न नदिने एन्टीअक्सिडन्ट गुण हुन्छ। यो तत्त्वले हृदयरोग र केही प्रकारका क्यान्सरको जोखिम घटाउन सघाउने देखिएको छ। 

खाद्यपदार्थमा पाइने लाइकपीन सोस्न शरीरलाई गाह्रो हुने भएकाले यो अध्ययनमा सहभागी मानिसलाई अतिरिक्त ल्याक्टोलाइकपीन दिइएको थियो। त्यसरी प्रत्येक पुरुषले उही मात्रामा उक्त तत्त्व पाएका थिए। उही मात्रामा लाइकपीन पाउन प्रत्येक व्यक्तिले पकाएको दुई किलो गोलभेँडा खानुपर्ने हुन्थ्यो। 

बाह्र हप्ता चलेको परीक्षणमा ६० जना सहभागी भएका थिए। प्रत्येक पुरुषलाई प्रत्येक दिन १४/१४ मिलिग्राम ल्याक्टोलाइकपीन दिइएको थियो। यो अध्ययन लाइकपीन उत्पादन गर्ने कम्पनीले आंशिक आर्थिक सहयोग उपलब्ध गराएको थियो। 

उनीहरूको शुक्रकीट अध्ययनको प्रारम्भमा, छ हप्तामा र अन्तिममा जाँचिएको थियो। शुक्रकीटको परिमाणमा भिन्नता नभए पनि अतिरिक्त लाइकपीन सेवन गरेका व्यक्तिमा स्वस्थ शुक्रकीट र तिनको गतिशीलताको अनुपात बढेको पाइयो। 

यूनिभर्सिटी अफ शेफील्डसँग आबद्ध पोषणविद् डा. लिज विलीअम्जको नेतृत्वमा भएको शोध युरोपियन जर्नल अफ न्यूट्रिशनमा प्रकाशित भएको छ। उनका अनुसार अब पुंसत्वसम्बन्धी समस्या भएका पुरुषमा यो परीक्षण गरिनुपर्छ। 

त्यसबाट लाइकपीनले शुक्रकीटको गुण बढाउन तथा जोडीहरूलाई गर्भाधान गर्न तथा बाँझोपनसम्बन्धी महँगो उपचारविधिबाट जोगिन सघाउँछ कि सघाउँदैन त्यो देखाउन सक्नेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 17 =