‘तरुण दल र नेविसंघ नै खोज्नुपर्ने अवस्था छ, सडक कसरी तात्छ ?’

असोज १४, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कांग्रेसका दुई बलिया संगठन तरुण दल र नेविसंघ खोज्नुपर्ने अवस्था आएकोले पार्टी कमजोर भएको बताएका छन् । यतिबेला  सरकारले गरेका गलत कामका विरुद्ध सडक तताउने काम तरुण दल र नेविसंघको भएको भएपनि उनीहरुलाई नै खोज्नुपर्ने अवस्था आएको डा. कोइरालाले बताए ।   

नेपाल तरुण दलले दसैंको अवसर पारेर आयोजना गरेको शुभकामना कार्यक्रममा उनले सँगै रहेका नेता बलबहादुर केसी र आफ्नो काम सडक तताउने नभएको भन्दै भने ‘नेविसंघ र तरुण दलले सडक तताउने हो, बलबहादुरजी र मैले होइन ।’ उनले भने ‘तर तरुण दल र नेविसंघ नै खोज्नुपर्ने अवस्था छ । अनि सडक कसरी तात्छ ?’   

डा. कोइरालाले भातृ संस्थाहरुलाई तदर्थवाद चलाए पार्टी दुर्घटनामा पर्ने दावि गर्दै तत्कालै नेविसंघ र तरुण दलको अधिवेशन गर्नुपर्नेमा औंल्याए । ‘यी दुई संगठनलाई चलायमान नबनाएसम्म कांग्रेस अगाडी बढ्न सक्दैन ।’ डा. कोइरालाले भने ।  पार्टीको १४औं महाधिवेशन लम्ब्याउन नहुने भन्दै महाधिवेशन धकेलिँदा पार्टी कमजोर हुने डा. कोइरालाको भनाई थियो ।   

बेलैमा महाधिवेशन गर्दा पार्टी तन्दुरुस्त हुने र पार्टी तन्दुरुस्त हुँदा नेविसंघ, तरुण दल र अरु भातृसंस्था आफैँ चलायमान हुने उनको भनाइ थियो । उनले पाटीभित्र मतभेदहरु भए पनि त्यसलाई स्वीकारेर अगाडि जानुको विकल्प नभएको पनि बताए । पार्टीको जागरण अभियानले केही न केही उर्जा थपेको भन्दै उनले जागरणमा जाँदा कार्यकर्ताले केन्द्रीय समितिलाई नै जागृत हुन सुझाव दिएको बताउँदै नेतृत्वले पार्टी सुदृढिकरणमा ध्यान दिनुपर्ने बताए ।   

उनले पछिल्लो समय राजनीतिमा विचार र सिद्धान्तको राजनीति नभइरहेको भन्दै विचारको राजनीति छाडेपछि गिरोह समात्ने र त्यसबाट गुट जन्मने बताए । कांग्रेस एक भएर अघि बढे राणा र राजाजस्तै कम्युनिस्टहरुलाई पनि हटाउन सक्ने भन्दै पार्टी एकतामा डा. कोइरालाले जोड दिए ।   

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, अफ्ताव आलम, बद्री पाण्डेलगायतका नेताहरुले धारणा राखेका थिए । तरुण दल महासचिव भूपेन्द्रजंग शाहीको सभापतित्वमा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कांग्रेस नेताहरु शोभाकर पराजुली, बिजुल्ला बर्मा, हुर्मत न्यौपाने, रमेष खरेल, मेदिनी सिटौला, चित्र केसी, निल थापा, एसटी लामालगायतले बोलेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *