खैरहनीको मुसहर वस्तीमा मुख्यमन्त्री पौडेल

कात्तिक ९, चितवन । ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चितवनको खैरहनी नगरपालिकाको योजनाहरुको निरीक्षण गरेका छन् । शनिबार मुख्यमन्त्री पौडेलले संघीय  सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गरेका विकास निर्माणको निरीक्षण गर्नुका साथै यहाँको बस्तुस्थितिका बारे जानकारी लिएका हुन् । 

खैरहनी नगरपालिका वडा नम्वर १० मा निर्माण भईरहेको एकिकृत मुसहर वस्ती, नगरपालिका परिसरमा निर्माणाधिन सभाहल, नगरपालिकाको कार्यालय भवनको मुख्यमन्त्री पौडेलले स्थलगत निरीक्षण गरे । मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, खैरहनीका मेयर लालमणी चौधरी, उपमेयर सुनिता थपलियासहित पुगेका मुख्यमन्त्री पौडेलले मुसहरको पुरानो वस्ती र निर्माणाधिन नयाँ आवासहरुको निरीक्षण गरेका थिए । 

सो अवसरमा खैरहनीका मेयर चौधरीले वजेट अभावका कारण वस्ती निर्माण कार्य रोकिएको र चालु आर्थिक वर्षमा पनि योजना परेको भन्दै ति योजनाबाट पनि पूर्णता नपाउने भएकाले सहयोगका लागि मुख्यमन्त्री पौडेललाई आग्रह गरे । संघीय सरकारको तराई मधेश समृद्धी कार्यक्रम र खैरहनी नगरपालिकाको लगानीमा एकिकृत वस्ती निर्माण भईरहेको हो । माछा र घोंगी खोलाबाट टिपी गुजारा चलाउँदै आएका यहाँका २८ घर परिवारलाई तीन कोठे घर निर्माण गरिएको छ । 

मुख्यमन्त्री मन्त्री पौडेलले पनि आवश्यकतासहितको कागजपत्र प्रदेश सरकारमा ल्याउन आग्रह गरे । आफ्नो वस्तीमै मुख्यमन्त्री पुगेपछि त्यहाँका मुसहरहरुले फुलमालाले स्वागत गरेका थिए । निरीक्षण अघि नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा खैरहनीका मेयर चौधरीले प्रदेश सरकारबाट खैरहनीमा परेका योजनाहरुमा स्थानीय सरकारको रुपमा रहेको खैरहनी नगरपालिकाले थप बजेट विनियोजन गरेर काम गरिरहेको मुख्यमन्त्रीलाई जानकारी गराए । 

कार्यक्रममा मुख्यमन्त्री पौडेलले नगरपालिकाको कार्यालय भवन र यहाँको व्यवस्थापन देखेर आफु सन्तुष्ट रहेको बताए । स्थानीय सरकारले विकास निर्माणसँगै जनताको सेवा प्रवाहलाई चुस्त पार्नु पर्नेमा उनले जोड दिए । ‘जतिनै विकासका काम गरेपनि सेवा प्रवाह चुस्त हुनुपर्छ’–मुख्यमन्त्री पौडेलले भने–‘ तीन तहका सरकार मिलेर समृद्ध मुलुक निर्माणमा लाग्नु पर्छ ।’ नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले शिक्षाको सुधारमा नगरपालिकाले गरेका क्रियाकलापको जानकारी गराएका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *