प्रहरी प्रति नागरीकको समस्याका चाङ, प्रहरी भन्छः सहयोग चाहिन्छ

भाद्र २४, चितवन । नेपाल प्रहरीले समुदायमा विभिन्न नयाँ कार्यक्रम अघि बढाईरहेका वेला नागरीकहरुले भने प्रहरी प्रति समस्याका चाङ थुपारेका छन् । पछिल्लो पटक नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन गरेपनि प्रहरीसंग नागरीक ढुक्क हुने अवस्था नरहेको चितवनका नागरीकहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर १६ पिठुवामा मंगलवार आयोजना गरेको नागरीक सुनुवाई कार्यक्रममा यस क्षेत्रका नागरीकले समस्यै समस्याहरु प्रहरी सामुु राखे । 

प्रहरीले दिँदै आएको सेवा प्रति नागरीकको गुनासा, सुझाव संकलन गर्ने उद्देश्यले नागरीक सुनुवाई कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा सुझाव भन्दा पनि नागरीकहरुले समस्याहरु मात्रै तेस्र्याए ।   

पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष आशिक तामाङले सामान्य नागरीकको निवेदन दर्ता गर्दा प्रहरीले आनाकानी गर्ने गरेको बताए । उनले प्रहरी कार्यालयमा राजनीतिक पहुँच भएका, आर्थिक रुपमा सम्पन्न भएका व्यक्तिहरुले भरिभराउ हुने गरेको भन्दै सर्वसाधारण नागरीकले सहज रुपमा सेवा पाउन नसकेको औंल्याए । पिठुवा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बद्री अर्यालले पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएपनि प्रहरीको सक्रियता वढ्न नसकेको भन्दै गुनासो गरे ।   

विभिन्न घटनाका भिडियोहरु प्रमाणको रुपमा पेश गर्दा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न नसक्नु शंकाको विषय रहेको अर्यालले बताए । रत्ननगर १५ की सर्मिला लामिछानेले प्रहरीको व्यवहारकै कारण जनताको विश्वास बढ्न नसकेको बताईन् । राजनीतिक आड भरोसामा निसाफ दिने गरेको, कुनै रिपोर्ट बनाउँदा पैसा माग्ने चलन रहेको भन्दै उनले आपत्ति जनाईन् ।   

कालिका ८ की जुना लामाले नदिजन्य पदार्थको चरम दोहन भईरहेको, विना लाईसेन्स किशोरहरुले समेत सवारी साधन चलाईरहेको भन्दै यस तर्फ कडाई गर्न आग्रह गरिन् । सामुदायिक सेवा केन्द्र रत्ननगरका सचिव श्याम बरालले पिठुवा र मोहनामा प्रहरी विट स्थापना गर्नु पर्ने माग गरे ।   

अन्य सहभागीहरुले लागू औषध दुव्र्यसनमा युवाहरु फस्ने क्रम बढ्दै गएको भन्दै नियन्त्रण गर्नु पर्ने, मुस्कानसहितको सेवा प्रवाह गर्नु पर्ने, चुल्ठे मुन्द्रेसँग प्रहरीले संगत छाड्नु पर्ने, नागरीकले विश्वासीलो पात्रको रुपमा प्रहरीलाई पाउनु पर्ने लगायत विषयमा जोड दिएका थिए ।   

रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले नागरीकले प्रहरीलाई इज्जत गर्नु पर्ने भन्दै प्रहरीले पनि नागरीकलाई समान व्यवहार गर्नु पर्नेमा जोड दिईन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लले समृद्ध, शान्त समाज निर्माणका लागि नागरीकको साथ उत्तिकै रहेको औल्याए । ‘प्रहरी पनि यही समाजको सामान्य नागरीक जस्तै हो ।’ मल्लले भने –‘कुनै पनि घटना न्युनिकरण गर्न समुदायले प्रहरीलाई साथ दिनु पर्छ ।’ 

प्रहरी संगठन भित्र पनि केही काला दागहरु रहेको भन्दै प्रहरी उपरिक्षक मल्लले अब सुधारिएको प्रहरी नागरीक समक्ष पुग्ने विश्वास दिलाए । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बर्दिका प्रहरीले मात्रै अपराध नियन्त्रण गर्न नसक्ने भन्दै प्रहरीलाई सहयोग गर्नु आम नागरीकको दायित्व रहेको औल्याए । नागरीकहरुले राखेका समस्याहरुप्रति गम्भीर हुन आग्रह गर्दै प्रजिअ बस्नेतले टोल टोलमा पुग्ने गरि गस्ती पेट्रोलिङ गर्नु पर्ने वताए ।   

प्रशासन, प्रहरी विस्तारै सुधारिदै गएको उल्लेख गर्दै प्रजिअ बस्नेतले विकृती, विसंगति हटाउन विद्यालय, समाज, आमा समुहमा सचेतना कार्यक्रम अघि बढाएको वताए । कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले गलत काम गर्नेलाई कानुन अनुसार कारवाही हुनु पर्ने बताउँदै गलत काम गर्नेहरुका लागि जनप्रतिनिधीहरुले सिफारीस गर्न नहुने बताए ।   

समृद्ध, शान्त नगर बनाउन नगरपालिकाले प्रहरीसँग साझेदारी गरेर कार्यक्रम गरिरहेको पनि मेयर श्रेष्ठले बताए । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक भावेश रिमालले प्रहरी सेवामा सहज पहुँच भए नभएको, प्रहरीप्रति नागरीकका गुनासा संकलन गर्न कार्यक्रम गरिएको भन्दै नागरीक सुनुवाई कार्यक्रम प्रहरीका लागि अडिटको रुपमा रहेको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *