धरानको उपनिर्वाचनका लागि समाजवादीले तीन जनाको नाम सिफारिस गर्यो

असोज ८, धरान । सुनसरीको धरान उपमहानगरपालिकामा हुन गइरहेको उपनिर्वाचनमा समाजवादी पार्टीले तीन जनाको नाम सिफारिस गरेको छ । समाजवादीले मेयर पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।   

आगामी मंसिर १४ गते धरानमा हुन लागेको मेयर पदको उपनिर्वाचनको लागि मंगलबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले धरान उपमहानगर कमिटि अध्यक्ष ताजुब लिम्बूसहित ३ जनाको नाम सिफारिश गर्ने निर्णय गरेको हो ।   

उपनिर्वाचनका लागि ताजुब लिम्बु, गजेन्द्र इस्बो र शुभचन्द्र राईको नाम उम्मेदवारको लागि सिफारिश गर्ने निर्णय गरेको छ । यस अघि धरानमा समाजवादीले नेपाली कांग्रेससँग गठबन्धन गर्ने हल्ला चलेको थियो । पार्टीको यो निर्णयले कांग्रेससँग गठबन्धन नहुने देखिएको छ । समाजवादीका अधिकांश कार्यकर्ताहरु गठबन्धन नगर्ने पक्षमा छन् ।   

पार्टीका माथिल्ला नेताहरु भने गठबन्धन गरेर अगाडी जान सकिने अडानमै छन् । समाजवादीका धरान अध्यक्ष ताजुब लिम्बूले पनि तीन जनाको नाम सिफारिस गरेपनि गठबन्धनको सम्भावनालाई नरोकेको बताए । 

सचिवालय बैठकले गजेन्द्र इस्बोको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । समितिमा सदर राई, शुभचन्द्र राई, पुष्यबहादुर राई, रामकुमार तुम्बा, बसन्त चेम्जोङ, नयन्द्र लिम्बू, रामकुमार राई, टिका सुब्बा, तेन्जिङ शेर्पा, चन्द्रमाया लिम्बू, कृष्ण लिम्बू, नयन राई, दावा शेर्पा, केशबिर राईलाई मनोनयन गरिएको छ ।   

युवा धरान नगर इन्चार्जमा रवि पाख्रिनलाई जिम्मा दिने र भ्रष्टाचारविरुद्ध अभियान थाल्ने निर्णय गरेको छ । धरानमा आदिवासी जनजातिहरुको बाहुल्यता रहेकोले समाजवादीले त्यहि अनुरुपका उम्मेद्वार सिफारिस गरेको छ । तथापि, धरानमा स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा नेकपाले जितेको कारण समाजवादीकै उम्मेद्वारले विजय हासिल गर्ने अवस्था भने छैन । समाजवादीले कांग्रेस र साना दलहरुसँग गठबन्धन गरेको अवस्थामा नेकपालाई बाम किल्ला तोड्न नसक्ला भन्न सकिन्न ।   

पार्टीले सिफारिस गरेका तीन जनाको नाम धरानमा परिचित नाम हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *