संविधानमा सबैको अपनत्व भएकै हो ? संविधान दिवसमा कतै ब्ल्याक आउट त कतै कालो झण्डा

असोज २, काठमाडौं । भोली असोज ३ गते सरकारले संविधान दिवस भब्यताका साथ मनाउने तयारी गरीरहँदा भोलीको दिनलाई कालो दिवसको रुपमा मनाउनेहरुको संख्या बढेको छ । आजै संसदमा राजपाका नेता राजेन्द्र महतोले भोली ब्ल्याक आउट हुने सम्मको चेतावनी दिँदा शाही युवा शक्ति, नेपालले पनि संविधान दिवसलाई कालो दिनका रुपमा मनाउन आग्रह गरेको छ । 

जनभावना विपरित राजसंस्था, हिन्दुराष्ट्र र अखण्ड नेपाल संविधानमा उल्लेख नभएको कारण आफुहरुले विगत वर्षदेखि नै बर्तमान संविधान बहिस्कार गर्दै आएको जनाउँदै शाही युवा शक्तिले असोज ३ लाई कालो दिवसका रुपमा मनाउन आह्वान गरेको हो ।   

शाही युवा शक्तिका केन्द्रिय अध्यक्ष पशुपति खड्काले राजसंस्था, हिन्दुराष्ट्र र अखण्ड नेपाल आफुहरुको मुख्य एजेण्डा रहेको बताउँदै उल्लेखित एजेण्डा नसमेटिएको संविधान आफुहरुलाई मान्य नभएको जिकिर गरे ।   

जनताहरु मारेर घोषणा गरेको संविधान छिमेकी राष्ट्रले स्वागत गरेको संविधान र प्रधानमन्त्री आफैंले होली वाइन खाएर क्रिश्चियन धर्मको प्रचारक भएर कार्यान्वयन नगरेको संविधान–२०७२ लाई सम्पूर्ण नेपाली जनताले दिपावली होइन नेपालको इतिहासको कालो दिनको रुपमा मनाउन आग्रह गरिएको छ ।   

संविधानमा भएको स्वतन्त्रताको प्रयोग गर्दै गत भाद्र २८ गते इन्द्रजात्राको दीन शान्तीपूर्ण ब्यवस्थाको विरोध गर्ने कार्यक्रममा सरकारले कायरतापूर्वक सरकारले शिव सेना नेपालका अध्यक्ष लगायत १० जनालाई गिरफ्तार गरी मुद्दा चलाएकोमा समेत भत्सर्ना गर्दै पक्राउ परेकाहरुलाई अविलम्ब रिहा गर्न माग गरेको छ । यसअघि नै मधेशवादी र पहिचानवादी दलहरुले भोलीको दिनलाई कालो दिनका रुपमा मनाउने र संविधान दिवसमा दिपावली नगर्ने भनिसकेका छन् ।   

संविधान दिवसलाई बहिस्कार गर्नेहरुमा डा. बाबुराम भट्टराईको समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी लगायत साना दलहरु समेत छन् । उनीहरुले भोली कालो दिनका रुपमा मनाउने तयारी गरेका छन् । पहिचान पक्षधर भनिएको संघिय लिम्बुवान मञ्च नेपालले समेत भोली कालो दिवस मनाउने घोषणा गरेको छ । मञ्चका अध्यक्ष कुमार लिँङदेनले विज्ञप्ति मार्फत सुनसरीको धरानमा भोली कालो भण्डा प्रर्दशन गर्ने कार्यक्रम समेत राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *