मेलम्चीको रोकिएको काम अब चिनियाँ कम्पनीले गर्ने, आइतबार सम्झौता हुँदै

असोज ३, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको रोकिएको बाँकी काम अब चिनियाँ कम्पनी सिनो हाइड्रोले गर्ने भएको छ ।   

आउँदो आइतबार चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता हुँदैछ । कम्पनीका प्रतिनिधिहरु बैंक ग्यारेण्टी सहित काठमाडौंमा आइसकेका कारण आइतबार सम्झौंता गर्न लागिएको हो । आयोजनाले बिहीबार नै बैक ग्यारेण्टी भेरिफिकेशनका लागि पत्र पठाइसकेको छ ।   

सुरुङमार्ग फिनिसिङ र हेडबक्स निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनीले एक महिनाभित्र काम सुरु गर्नुपर्नेछ ।   

Image result for मेलम्ची खानेपानी आयोजना

गत २९ मंसिरमा इटालियन कम्पनी सिएमसी दि राभेनाले छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । सिएमसीले आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी रूपमा काम छोडेको थियो । २४ माघमा समितिले सिएसमीसँगको ठेक्का तोडेको थियो । 

सिएमसीसँग ठेक्का रद्द भएपछि हेडबक्सको काम १५ महिनामा सक्ने गरी र सुरुङ फिनिसिङको काम १२ महिनामा सक्ने गरी टेन्डर आह्वान गरिएको थियो । मेलम्चीका बाँकी काम गर्न सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालय रमन जेभीले प्रस्ताव हालेका थिए ।   

आयोजनाको मूल्यांकन समितिले चिनियाँ कम्पनीलाई उत्कृष्ट ठहर गर्दै सम्झौता गर्न आउन पत्र पठाएको थियो । हेडबक्सका लागि एक अर्ब २४ करोड र सुरुङ फिनिसिङका लागि ९५ करोड बजेट छुट्याइएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *