खैरहनी ३ को वडा कार्यालय उद्घाटन

भाद्र २९, चितवन । खैरहनी नगरपालिका वडा नम्वर ३ ले आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन संगै आफ्नै कार्यालयबाट वडावासीलाई सेवा सुरु गरिएको वडाध्यक्ष पूर्ण वहादुर गुरुङले जानकारी दिए । वडा कार्यालयको एक कार्यक्रमका बीच खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले उद्घाटन गरे ।
सो अवसरमा मेयर चौधरीले वडावासीलाई सहज र सरल किसिमले सेवा प्रवाह गर्न आग्रह गरे । सेवा प्रवाहमा केही कमी हुनु हुदैन मेयर चौधरीले भने – गुनासो आउने गरी काम गर्दा जनतामा नैराश्यता पैदा हुन्छ ,यसमा जनप्रतिनिधी,कर्मचारी जिम्मेवार वन्नुपर्छ ।

खैरहनी ३ वडा कार्यालय अहिले सम्म निजी घरमा भाडामा वस्दै आएको थियो । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माका अनुसार अहिले सम्म वडा नम्वर २,३,५,६,७,१०,१२ र १३ को आफ्नै वडा कार्यालय भवन छ । वडा नम्वर ४ को भवन निर्माणाधिन अवस्थामा छ भने वडा नम्वर १,९ र ११ को चालु आर्थिक वर्षमा निर्माण सुरु हुने प्रमुख प्रशासकीय अधिकृत शर्माले वताए । वडा नम्वर ८ को भवनका लागि भने जग्गा खोजी कार्य भईरहेको छ ।









