दशैंमा घर जाने यात्रुहरुलाई टिकट र गाडीको समस्या हुँदैन्ः महानिर्देशक हमाल

असाेज ६, काठमाडौं ।  दशैँ, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् ।   

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनैपनि समस्या नपर्ने दाबी गरेका छन् । उनले भने,‘यात्रा सहज बनाउनको लागि हामी २०–२५ दिनदेखि छलफलमा छौं । हामीले यो वर्ष राम्रो तयारी गरेका छौं ।’   

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले काठमाडौं बाहिर जाने कोहीपनि यात्रुले सिट नपाएर वा गाडी नभएर घर जान नपाउने अवस्था नआउने जिकिर गरे । उनले यात्रुहरुको समस्यालाई ध्यानमा राखेर आफूहरुले १४ वटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको सुनाए । नागरिक कक्षका कारण नागरिकहरुको गुनासो तत्काल सम्बोधन हुने पनि उनले विश्वास दिलाए । उनले यातायात क्षेत्रमा अनुगमन नै गर्न नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।   

उनले चाडपर्वलाई लक्षित गरेर प्रदेश, स्थानीय सरकाले पनि आफ्नो तवरबाट यातायात क्षेत्रको व्यवस्थापन गर्ने विश्वास दिलाए । हिजोमात्रै नेपालगञ्जमा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र पाँच नम्बर प्रदेशबीच छलफल भएको सुनाउँदै सबैले मिलेर व्यवस्थापन गर्ने कुरा भएकोपनि उनले जनाए । 

महानिर्देशक हमालले भाडा पूरानै कायम गरिएको जनाए । तर, डिलक्स र सुपरडिलक्सको लागि भने क्रमशः २०–२० प्रतिशत भाडा थप हुने उनको भनाई छ । भाडादरमा द्धिविधा नहोस भनेर आफूहरुले विभागको वेबसाईटमा राखिएको सुनाउँदै यसलाई अझै प्रचार गर्न फ्लेक्स प्रिन गरेर मुख्य मुख्य ठाउमा राखिनेपनि जनाए । तोकिएको भन्दा बढि भाडा लिनेलाई कानुनअनुसार कडा कारबाही हुने पनि उनले चेतावनी दिए ।  उनले यो वर्षको दशैं दुर्घटना रहित मनाउने सरकारको तयारी रहेको सुनाए । 

उनले दशैं लक्षित गरेर सरकारले असोज १० गतेभित्रै सबै खाल्डाखुल्डी परिसक्ने गरि काम गरेको पनि सुनाए । उनले भने,‘हामी समयमै सबै काम पूरा गर्छौं ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *