विवाह गरी आउने विदेशी महिलालाई नागरिकता दिने कुरामा सांसदहरु विच नै चर्काचर्की

भाद्र २५, काठमाडौं । संघीय सांसदहरुले बिबाह गरेर नेपाल आउने विदेशी महिलालाई नागरिकता दिन कडा प्रावधान राखिनुपर्ने माग गरेका छन् ।   

बुधबारको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी हुँदै सांसदहरुले एक हातमा सिन्दूर र अर्को हातमा नागरिकता दिने कार्य कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।   

उनीहरुले बैबाहिक अङ्गीकृत नागरिकता दिनेबारे कडा प्रावधान राख्नुपर्नेमा जोड दिए । सत्तारुढ दलका केही सांसदले कडा प्रावधान राख्नुपर्ने धारणा राखेपनि प्रतिपक्ष दल र मधेस केन्द्रीत दलका सांसदले भने वैबाहिक अङ्गीकृत नागरिकता दिन कडा प्रावधान राख्न नहुने बताए ।   

बुधबार बसेको समितिको बैठकमा सांसदहरुबीच यसबारे विवाद उत्पन्न भएपछि बैठक बिनानिष्कर्ष सकिएको छ । कडा प्रावधान ल्याउने र नल्याउने विच बैठकमा लफलका क्रममा सांसदहरुबीच चर्काचर्की नै भयो ।   

बैठकमा नेकपाका सांसद झपट रावलले विदेशी महिलाले नेपालमा विहे गरेर आएको १० देखि १५ वर्षपछि मात्रै वैबाहिक अङ्गीकृत नागरिकता दिनुपर्ने जिकिर गरे । उनले   

भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्सलगायतका देशको उदाहरण दिँदै नेपालमा मात्रै एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने व्यवस्था गर्न नसकिने बताए ।   

रावलले माल्दिभ्समा धर्म नै परिवर्तन नगरेसम्म विदेशी बुहारीले नागरिकता पाउन नसक्ने व्यवस्था रहेको उल्लेख गर्दै भुटानमा बच्चा जन्माएपछि मात्रै नागरिकता दिने व्यवस्था भएको उदाहरण पेश गर्दै भने ‘एक हातमा सिन्दुर अर्को हातमा नागरिकता दिने काम गर्नु हुँदैन । कम्तिमा पनि बिहे भएको १० देखि १५ वर्षपछि मात्रै वैवाहिक अङ्गीकृत नागरिकता दिने प्रावधान राखिनुपर्छ ।’   

छलफलमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले कम्तिमा १५ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था गरिनुपर्ने धारणा राखे ।  उनले भारतमा समेत ७ वर्षको व्यवस्था रहेको उल्लेख गर्दै नेपालमा चाहिँ किन कडा प्रावधान नराख्ने भन्दै समितिलाई प्रश्न गरे ।   

यता, समाजवादी पार्टीका सांसद रामसहाय यादवले विदेशी महिला नेपाली बुहारी बनेर आएपछि नागरिकता दिँदा के असर पर्छ भन्दै प्रश्न गरेका थिए । उनले नागरिकता दिन वर्षौँ कुनुपर्ने कुरा किन र कहाँबाट आयो भन्दै आक्रोश पोखे । यादवले कडा प्रावधान राखिए आफूहरु चुप लागेर नबस्ने पनि चेतावनी दिए ।   

काँग्रेस सांसद देवेन्द्रराज कँडेलले कडा प्रावधानले नेपाल भारतबीचको सम्बन्धमा असर पुग्ने बताए । नेपाल चीनतिर ढल्किएको भन्ने टिकाटिप्पणी हुँदै आएको बेला कडा प्रावधानको कुरा ल्याउँदा नेपाल–भारतको सम्बन्धमा समेत असर पुग्ने उनको बुझाई थियो । नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको उल्लेख गर्दै कडा प्रावधान राखिँदा ठूलो असर पर्ने कँडेलले बताए । काँग्रेसका सांसदद्वय मिना पाण्डे र डिला संग्रौंलाले कँडेलको धारणामा सहमति जनाए ।   

बैठकमा नेकपाकी सांसद पम्फा भुसालले अङ्गीकृत नागरिकतामा कडा प्रावधान राख्नुभन्दा पनि भारतसँगको खुला सिमाना सील गर्नुपर्ने बताइन् । उनले भारतीय सीमामा नेपाली सेना र सशस्त्र प्रहरी तैनाथ गरिनुपर्ने बताइन् । अङ्गीकृत नागरिकताको विषयमा सांसदहरुबीच विवाद देखिएपछि बैठक बिना निष्कर्ष सकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *