चिनियाँ राष्ट्रपति सीको सुरक्षाका लागि २७ हजार सुरक्षाकर्मी परिचालन हुने, ‘सी आउनु अगावै ‘सी विचारधारा’, चीनमा पढ्दै नेकपाका मेयरहरू

असोज ६, काठमाडौँ । आज प्रकशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमा कतिपयले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अगावै सत्तारुढ दल नेकापाले आयोजना गर्नलागेको छलफललाई समाचार बनाएको छ ।
कान्तिपुर दैनिकले सी आउनु अगावै ‘सी विचारधारा’ शीर्षकमा मुख्य समाचार बनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनुअगावै ‘सी विचारधारा’ भने आइसकेको छ । खासगरी नेपाल र चीनका सत्तारुढ कम्युनिष्ट दलहरुबीच सी विचारधारालाई आधार बनाएर बढेको बैचारिक अन्तरक्रियाले यही देखाउँछ । नेकपा स्कुल विभागको आयोजनामा सोमबार राजधानीमा दुई दिने छलफल कार्यक्रम हुँदैछ, जसमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तराष्ट्रिय विभाग प्रमुखको नेतृत्वमा बेइजिङबाट आएका करिब २० जना नेताहरुले भाग लिँदै छन् ।

आजको अन्नपुर्ण पोस्टले ‘चीनमा पढ्दै नेकपाका मेयरहरू’ शीर्षकमा समाचार छापेको छ । नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन्। पढाइका विषय छन्– चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगीकरण, सहरीकरणलगायत। साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन्।
‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन्। युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्रध्यापकले तिनलाई पढाउने गरेका छन्। कक्षा बिहान र अपराह्न गरी दुई चरणमा दैनिक हुन्छ। कक्षा नभएका बेला चीनको विकास देखाउन स्थलगत भ्रमणमा लगिन्छ।
टोलीमा ७ वटै प्रदेशबाट कम्तीमा ४ जना सहभागी छन्। उनीहरू सबैलाई प्रधानमन्त्री कार्यालयले छानेको हो। उनीहरूलाई विश्वविद्यालयभित्रकै भवनमा बस्ने प्रबन्ध मिलाइएको छ। नेकपाका केन्द्रीय सदस्यसमेत रहेका भक्तपुरको चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मि श्रले टोलीको नेतृत्व गरेका छन्। प्रधानमन्त्री कार्यालयले नेपालस्थित चिनियाँ दूतावाससँग समन्वय गरी यो अध्ययन भ्रमणमा पठाएको हो।
तिनमा प्रदेश १ का ४, प्रदेश २ का ६, प्रदेश ३ का ७, प्रदेश ४ का ४, प्रदेश ५ का ४, प्रदेश ६ का ३ र प्रदेश ७ का ५ जना छन्। सिफारिसमा परेकामध्ये भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललगायत ४ जना कार्यव्यस्ताको कारण देखाउँदै सहभागी भएनन्।
चीनविज्ञ डा.सागर न्यौपानेले उक्त कार्यक्रमको समन्वय गरेका हुन्। न्यौपानेसमेत अहिले सोही टोलीमा छन्। नेपाली प्रतिनिधिमण्डलको सबै खर्च चीन सरकारले नै व्यहोर्नेछ।
आजको नेपाल समाचार पत्रले चिनियाँ राष्ट्रपति नेपाल भ्रमणका लागि आउँदा सुरक्षा कर्मी व्यवस्थापनको विषयलाई समाचार बनाएको छ ।
चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न बैठक बसेको छ। राष्ट्रपति सी भ्रमणबारेको ‘विशेष सुरक्षा रणनीति’ तय गर्न सुरक्षा अधिकारी जुटेका हुन्।
आइतबार दिउँसो चारवटै सुरक्षा प्रमुखबीच छलफल भएको बताउँदै नेपाल प्रहरीका एक उच्च अधिकारीले भने– ‘चीनले सुरक्षाबारे विशेष चासो लिएको छ, नेपालले कस्तो सुरक्षा ‘एस्योर’ गर्छ भन्ने चीनको चासो हो।’
चारवटै सुरक्षा निकायबाट २७ हजार सुरक्षाकर्मी परिचालन गर्ने प्रारम्भिक सुरक्षा खाका नेपाली पक्षले चीनलाई ब्रिफिङ गरेको ती अधिकारीले बताए।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र सेनाका उच्च अधिकारी सहभागी थिए ।
अन्य पत्रत्रिकाहरुको फ्रन्ट पेजः








