बहुप्रतिक्षित टाटा एच फाइभ एसयूभी विराटनगरमा सार्वजनिक

भाद्र २६, विराटनगर । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ गोएल मोटर्स प्रा. लि. मार्फत विराटनगरमा सार्वजनिक गरेको छ । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मुल्य ५६ लाख ५५ हजार तोकिएको छ ।
नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको हो । बुकिङ्ग खुल्ला भएयता टाटा एच फाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेको बताएका छन् ।
सिप्रदीले टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने र नेपाली एसयूभीपारखीहरूले आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एच फाइभलाई मनपराउने विश्वास लिएको छ ।

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।









