अपडेटः नवलपरासीका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु, २० जना घाइते

असोज ७, काठमाडौं । नवलपरासीमा तीन स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । जिल्लाको कावासोती, अरुणखोला र चोरमारा तीन स्थानमा सवारी दुर्घटना भएका हुन् ।  ती दुर्र्घटनामा कम्तीमा १५ जना घाइते भएको र घाइतेको संख्या बढ्ने प्रहरीले जनाएको छ ।   

नवलपरासीको कावासोती नगरपालिका–८, पूर्व पश्चिम राजमार्गमा गए राति ट्रक र कार एकापसमा ठोक्किँदा ५ जनाको मृत्युु भएको छ । राति सवा १० बजेको समयमा पूर्वी नवलपरासीको कावासोती–८ खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नं को ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नंको कार एक आपसमा ठोक्किँदा कारमा सवार ५ जनाको भएको हो । प्रहरीका अनुसार मृतकहरुमा पाँचजना मध्ये ३ जनाको सनाखत भएको छ । जस अनुसार देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको छ । 

 बाँकी २ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   

यसैगरी जिल्लाकै मध्यविन्दु नगरपालिका–१०, स्थित जंगलमा राति १ः४५ को समयमा दाङ्गबाट काठमाडौंका लागि छुटेको बस अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । ना ७ ख ८६ ४२ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको हो । बसका चालक ३५ वर्षीय लक्ष्मण तिमील्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।   

यता, आज बिहान ४ः४० बजे मध्यविन्दु नगरपालिका–७, स्थित पूर्व पश्चिम राजमार्गको ४० किलोमा बस अनियन्त्रित भई पल्टिँदा ५ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ४ ख ९५ १० नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिएको हो । घाइते सबैको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा करिब २५ जना यात्रु सवार रहेका थिए । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *