एन आई सी एशिया बैंकले २१ प्रतिशत लाभांश वितरण गर्ने

असोज १०, काठमाडौं । एन आई सी एशिया बैंक लि.को २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न वार्षिक साधारण सभाले चुक्ता पूँजीको २१ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बैंकका संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले रु. १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय एक्काईस (रु.१,८५,९८,३७,६२१) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
जसमध्ये १० प्रतिशतका दरले हुन आउने रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय सत्तरी (रु. ८८,३४,२२,८७०) बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने रु. ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ (रु. ९७,६४,१४,७५१) नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव समेत पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ पुगेको छ ।
बैकमा डिम्याट खाता हुने शेयरधनीहरुलाई आजकै मितिबाट नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको तथा डिम्याट खाता नहुने शेयरधनीहरुले यथाशीघ्र डिम्याट खाताको लागि बैंकको शेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
बैंक मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६२ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब १८ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।









