न पारी तर्न सकियो न वारी, सफलताको डुङ्गा बीच किनारमै अड्किरह्योः वृद्धाश्रमका एक वृद्धको बेथा

भदौ १७, विराटनगर । हिँउ सरी सेताम्मे छ कपाल । गाला चाउरीएर कुनै मूर्तीमा बुट्टा कुँदेझैँ अनुभूती हुन्छ । बिराटेश्वर वृद्ध आश्रमभित्र प्रवेश  गर्दैगर्दा भेटिएका एक व्यक्ति । 

हून त त्यहाँ आश्रीत सम्पूर्ण बा, आमाको कथाव्यथा आ आफ्नै थीए होलान् । किन किन ती चाउरीएका बाप्रति मेरो नजर एक्कासी गयो ।  तीजको दर खाने कार्यक्रम थियो । एक संस्थाले आश्रममा आश्रीत सम्पूर्ण बा आमालाई दरमा खिर, पूरी तरकारीलगायतका परिकार खुवाईरहेका थिए । 

त्यस आश्रममा बस्नेहरु सबै परिवारबाट बिछटिएर नै त्यहाँ आइपुगेका थिए । परिवार र सन्तानबाट टाढा रहँदा जो कसैको मन सय मनको भारी उचालेझैँ हुन्छ नै, त्यसमाथि चाडबाडका बेला झन् बढी ।   

त्यहाँ थुप्रै त्यस्ता व्यक्ति थिए तर, मेरो आँखा ती पाका व्यक्तिमा पुग्यो जो एकोहोरो टोलाएर बसिरहेका थिए । मलाई लाग्यो ती वृद्धको मनले पनि परिवारसँग बिताएका प्रत्येक पलहरु स्मरण गरिरहेको थियो होला । त्यो भाव ती बा को चाउरिएको अनूहारमा प्रष्टै देखिन्थ्यो । 

मलाई बोलाउन मन लाग्यो, ‘बा दर खानु भयो रु’ मेरा प्रश्न र आवाजले  उनको मौनता तोडियो र मतिर रसाएका आँखाले हेरे । यतिकैमा मसँगै जानुभएको साथीले आफ्नो क्यामेरा ती वृद्ध बातिर तेर्साउँदै थिए  । बा भने मुस्कुराउँदै आफ्ना अनुभव सुनाउन लाग्नु भयो ।   

‘मैले पनि लामो समय पत्रकारिता गरेको अनुभव छ । हिन्दीमा एमए, अंगे्रजीमा बीए गरेँ । जीवनमा पाएको भनेको नै ती भोगाईहरु हुन् । ती यादहरु हुन ।’ मुस्कुराउँदै उनले भने, ‘सन्तोष भट्टराई हो मेरो नाम l ८० वर्षको भएँ ।’ उनी आफै पत्रकारीता गरेको व्यक्ति रहेछन् । उनले एउटै प्रश्नमा धेरै कुराको उत्तर दिए । कुरैकुरामा उनले पत्रकारीता गर्दाका क्षणका अनुभव पनि सुनाए ।   

बाध्यता आ आफ्नौ होलान्, कति कथा आफूभित्र नै व्यथा बनेका होलान् । त्यसैले त उनी वृद्धा आश्रममा जीवन विताइरहका छन् । ‘छोरा अमेरीकामा छ ।’ कुनै प्रश्नबिना नै उनले भने, ‘भक्तपूरमा घर छ श्रीमती छे छोराछोरीहरु छन् । नातानातीनीहरु छन् । म यहाँ छु ।’   

मैले सोधेँ किन रु भावुक हुँदै उनले भने, ‘बुढेसकालको ज्यान छोरा बुहारीले हेला गरेर लखेटिनुभन्दा आफैँ आएर बसेको । म रोगी पनि छु । हात गोडा राम्रोसँग चल्दैन रोगी ज्यानलाई इज्जतदार जीवन दिँदैनन् । कहिलेकाहीँ छोरो भेट्न आउँछ त्यसैमा सन्तोक छु ।’ 

आश्रमलाई नै घर ठानेका उनले त्यहाँ आश्रीत सम्पूर्ण सदस्यलाई आफ्नो परिवार सम्झन्छन् । केही बेर निशब्द रहेर आफ्नो विगतलाई स्मरण गर्छन् । रसाइरहेको आँखा झन् रसिलो बनाउँछन् र आफ्ना अनुभव सुनाउँछन्, ‘हाम्रा पालामा कम्पयूटर थिएन हातले समचार लेख्नु पथ्र्यो । साह्रै दुःख थियो ।’ कुराकानीकै सिलसिलामा वरिष्ठ पत्रकार भैरव रिसाललाई पनि सम्झन पुगे उनले, जो हामी भन्दा अग्रज हुन् ।   

गोरखापत्र दैनिक, राससलगायतका पत्रिकामा काम गरेको बताउने उनीे आफ्नो सन्तान पत्रकार नबनोस् भन्छन् । कारण पत्रकारीता साह्रै दुःख र जस नपाउने पेशा हो अरे । बनारसमा जन्मेका उनी आफ्ना बुबा र काकाहरुले पनि पत्रकारीता पेशा नै अंगालेकाले आफूले पनि पत्रकारीता पेसालाई नै रोजेको बताउँछन् । 

उनी भन्छन्, ‘पत्रकारीता पेशालाई जीवन्त दिनसके अक्षरसँगै आफ्नो नाम पनि लेखिने रहेछ । पेशा बीचैमा छोडेँ न पारी तर्न सकियो न वारी । सफलताको डूङ्गा अडकिरहन्छ ।’ उनी थप्छन्, ‘पेशालाई निरन्तरता दिन सकिनँ, त्यसैले आज म ओझेलभित्रको एक पात्र पो बनेको छु’   

गफैगफमा उनले एक लाइन कविता समेत सुनाउन भ्याए । जुन तत्कालीन राजा महेन्द्रले लेखेका थिए । ‘भन लौ तिमी नढाटी, कसरी बुझाउँ दील’ यो कविताका लाइनसँगै आफ्ना श्रीमती सम्झँदै उनी भन्छन्, ‘सुरुवातमा नजानेर अरुका लागि कति रोएँ अब यमराजले लाने बेलामै भए पनि एक पटक आफ्ना लागि हाँस्न देउ’ भन्न मन छ । आधा मुस्कान र आधा हाँसोको साथमा उनले आफ्नो भावनाहरु पोखीरहँदा म भने उनका कुरा सुनीरहेँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =