पर्यटनमा लगानी अनुसार पर्यटक आएनन

भाद्र २१, चितवन । मुलुकको तेश्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पर्यटन वर्षलाई केन्द्रित गर्दै पूर्वाधार निर्माण गर्नु पर्ने आवाज उठेको छ । अहिलेकै अवस्थामा पर्यटन वर्ष सफल हुन नसक्ने भन्दै सरोकारवालाहरुले नयाँ आयाम दिन सक्नु पर्नेमा जोड छ ।   

क्षेत्रीय होटल संघ नेपाल चितवनको १८ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन उद्घाटनका वक्ताहरुले पर्यटन वर्षलाई सफल बनाउन सबै लाग्नु पर्ने बताएका हुन् । ३ नम्बर प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनालले सौराहाको पर्यटनलाई मौलिक व्यवसायको रुपमा स्थापित गर्नु पर्ने बताए । उनले कृषि र उद्योग भन्दा पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै पर्यटनलाई उद्योग व्यवसायको रुपमा विकास गर्नु पर्ने बताए । 

छिमेकी मुलुकहरुसँग कृषि उत्पादन र उद्योगमा प्रतिस्पर्धा गर्न सकिदैन प्रदेश सभा सदस्य खनालले भने–‘यहाँको मौलिकतालाई प्राथमिकता दिँदै पर्यटनबाट पर्याप्त फाईदा लिन सकिन्छ ।’ नेपालमा पर्यटनको क्षेत्रमा ठुला लगानी भएपनि सो अनुरुप पर्यटक भित्र्याउन नसकिएको उनको भनाई थियो । 

पर्यटन व्यवसायमा निजी क्षेत्रबाट खरिव ७ खर्बको लगानी छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले पर्यटक लामो समय सम्म टिकाउने गरी पूर्वाधार निर्माण गर्न सके पर्यटन वर्ष सफल हुने बताए । ‘पर्यटन वर्षका लागि समय थोरै छ’– जिसस प्रमुख डल्लाकोटीले भने–‘केही पूर्वाधारको विकाससँगै सेवा सुविधामा व्यवसायी गम्भीर हुनुपर्छ ।’ पर्यटकलाई चितवन फर्काउने वातावरण बनाउन व्यवसायीले व्यवहार सुधार गर्नु पर्नेमा उनले जोड दिए । सौराहालाई जिल्लाको अन्य पर्यटकीय गन्तव्यसँग जोड्न सके तेश्रोबाट दोश्रो गन्तव्य स्थान बनाउन सकिने उनको भनाई थियो । चितवनको पर्यटन प्रवद्र्धनका लागि सिराईचुली, उपरदाङगढी, माडीको सोमेश्वर लगायतका क्षेत्रको विकास गर्न आवश्यक रहेको जिसस प्रमुख डल्लाकोटीले बताए । 

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सौराहाको विकासका लागि नगरपालिकाले चासो दिएपनि यहाँका व्यवसायीबाट सहयोग पाउन नसकिएको बताए । ‘सौराहालाई नयाँ पहिचान दिनुको विकल्प छैन ।’–मेयर वनले भने–‘नगरपालिकाले जति सक्रिएता देखाएको छ, त्यसको विपरित व्यवसायी चुपचाप छन् ।’ 

होटल संघ नेपालका केन्द्रिय महासचिव सादन शाक्यले पर्यटन वर्षलाई सफल बनाउन सरकारले ठोस कदम चाल्न नसकेको बताए । उनले होटल रेष्टुरेन्टका कर्मचारीको शीप तथा क्षमता विकास गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नु पर्नेमा समेत जोड दिए । क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुगाना, क्षेत्रीय होटल संघका प्रथम उपाध्यक्ष दिपक भट्टराई लगायतले मन्तव्य राखेका थिए । 

सो अवसरमा संघले पत्रकार होमनाथ सापकोटालाई पर्यटन पत्रकारीता पुरस्कारबाट सम्मान गरेको थियो । पत्रकार सापकोटा पूर्वी चितवन पत्रकार संघका अध्यक्ष एवंम् चितवन पोष्ट दैनिकमा कार्यरत छन् । कार्यक्रममा संघका महासचिव राममणी खनालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संघको ८ औ अधिवेशनले आगामी तिन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि वर्तमान प्रथम उपाध्यक्ष दिपक भट्टराई र वर्तमान महासचिव राममणी खनालले आकांक्षा देखाएपनि सहमतीबाट कार्यसमिति चयन गर्ने प्रयास भईरहेको संघका अध्यक्ष सुमन घिमिरेले बताए । क्षेत्रीय होटल संघमा चितवन, नवलपुर र मकवानपुरका होटल व्यवसायी आवद्ध छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *