अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने मेडिकल कलेजका विद्यार्थीको माग

भाद्र ३१, चितवन । चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै फिर्ता गर्नु पर्ने लगायत माग गरेका छन् । आन्दोलनमा उत्रिएको १५ दिन पछि उनीहरुले मंगलवार पत्रकार सम्मेलन गरि मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै फिर्ता गर्नु पर्ने माग गरेका हुन् ।
भरतपुर १३ कैलाशनगर स्थित मेडिकल कलेजमा पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा संघर्ष समितिले माग सम्वोधन नभएसम्म निरन्तर मेडिकल कलेज विरुद्ध आन्दोलन जारी राख्ने बताए । संघर्ष समितिका संयोजक प्रकाश चन्दले सरकारले मेडिकल माफियासंग मिलेर विद्यार्थीको आन्दोलन दवाउन खोजेको आरोप लगाए ।
विद्यार्थीको आन्दोलन दवाउन खोजिएको छ चन्दले भने – अतिरिक्त शुल्क फिर्ता नभएसम्म आन्दोलनलाई जारी राख्छौ, मेडिकल माफियालाई गलाउँछौ । अध्ययनका लागि सरकारले तोकेको भन्दा ४ लाख भन्दा वढि रकम मेडिकल कलेजले असुल गरेको विद्यार्थीहरुको भनाई छ ।

विएसई नर्सिङ अध्ययनरत कला अधिकारीले भनिन् सरकारले तोकेको भन्दा वढि रकम असुल्ने,अतिरिक्त रकमको रसिद समेत दिईदैन् । विद्यार्थीहरुले निश्चित समयमा रकम नवुझाए जरिवाना तिर्नु पर्ने वाध्यता रहेको भन्दै यसको पनि अन्त्य हुने पर्ने अधिकारीले बताईन् ।
अर्की विद्यार्थी मानिका थापाले मेडिकल कलेजले आधिकारीक रुपमा आफुहरुलाई अहिले सम्म वार्ता नवोलाएको बताईन् । हामीले वार्तामा बस्न पटक पटक आग्रह गरेका छौ थापाले भनिन् – कलेज प्रशासन आन्दोलन दबाउने पक्षमा मात्रै छ, विद्यार्थी प्रति गम्भीर छैन् । बिएसई नर्सिङ अध्ययनका लागि सरकारले ७ लाख ४८ हजार ६१० रुपैया तोकेको छ, तर मेडिकल कलेजले त्यो भन्दा ४ लाख बढी रकम असुलिरहेको विद्यार्थीहरुको भनाई छ ।
कलेजका अर्का विद्यार्थी शौरव कडेंलले बिडिएस अध्ययनका लागि १९ लाख ३२ हजार लाग्ने भएपनि २४ देखी २८ लाख सम्म कलेजले लिने गरेको गुनासो गरे । विद्यार्थीहरुले निरन्तर आन्दोलनमा उत्रिएपछि अस्पताल प्रशासनले उनीहरुलाई प्रवेशमा रोक लगाएको छ । प्रशासन प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलन छाडि नियमित पठनपाठनमा फर्कन आग्रह गरेको छ ।









