राप्तीको ४,५ र ६ मा लामखुट्टे लार्भा नष्ट गरिदैं

असोज १, चितवन । चितवनको राप्ती नगरपालिकामा लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियानलाई तीब्रता दिईएको छ । डेंगुको सक्रमण बढ्न नदिन नगरको बिभिन्न वडाहरुमा अभियान संचालन गरिएको छ भने केही वडामा बाँकी छ ।
राप्ती वडा नम्वर १,२,३,७,८ र ९ मा अभियान संचालन भईसकेको छ भने वडा नम्वर ४,५ र ६ मा बिहीबारदेखी लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान संचालन गरिदैंछ । अभियानमा स्वास्थ्यकर्मी, महिला स्वयम सेविका लगायतको २४ जनाको टोली परिचालन गरिने राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र पराजुलीले जानकारी दिए ।
उनीहरुले ति वडाका प्रत्येक घरघरमा पुगि लामखुट्टेको लार्भा खोजी गरिने नष्ट गर्नुका साथै जनचेतना समेत प्रवाह गर्ने पराजुलीले बताए । अभियानको पूर्व सन्ध्यामा बुधवार नगरका सरोकारवालाहरुसंग अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

नगर प्रमुख प्रभा वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले चितवनमा डेंगुको अवस्था, डेंगुबाट बच्ने उपायकाबारे सहजीकरण गरेका थिए । कार्यक्रममा राप्ती नगर उपप्रमुख इमानसिंह लामा, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांई, भण्डारा अस्पतालका प्रमुख डाक्टर गोपाल खरेल लगायत जनप्रतिनिधीहरु, महिला स्वास्थ्य स्वयमसेविका, टोल सुधार समितिका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।









