धुम्बाराहीमा प्रचण्डकाे उद्घाेष ‘सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ’

भाद्र २३, काठमाडौं । सरकार र नेकपाले आफ्ना कमजोरी सच्याउँदै अगाडी बढ्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । नेकपा र बर्तमान सरकारलाई बलियो बनाउँदै जनताको सेवा गर्नुको विकल्प नभएको बताउँदै सरकार सञ्चालन र पार्टी सञ्चालनमा भए गरेका कमीकमजोरी सच्याएर जाने प्रतिबद्धता ब्यक्त गरे ।  धुम्बाराही स्थित पार्टी कार्यालयमा सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेलको २१ औं स्मृतिमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । 

‘ समृद्ध मुलुक निर्माणमा हामी सबै एकताबद्ध हुनुको कुनै विकल्प छैन । यही कम्युनिष्ट पार्टीलाई बलियो बनाएर, यही सरकारलाई बलियो बनाएर जनताको सेवा गर्नुको अर्को विकल्प छैन ।’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन खोज्ने गतिविधि भइरहेको बताउँदै त्यो स्वीकार्य नभएको भन्दै भने–‘हिजोका निरंकुशतावादीहरु वा अरु कुनै नामका प्रतिक्रियावादी आएर नेपाललाई फेरि एकचोटि निरंकुशताको जाँतोमा पिस्न दिन सकिँदैन, त्यो हामीलाई स्वीकार्य छैन ।’ 

Image may contain: 7 people, people standing

प्रचण्डले सरकारले राम्रा काम पनि गरेको भन्दै राम्रो गर्न खोज्दा खोज्दै जनताको अपेक्षा अनुरुप काम भने हुन नसकेको र पार्टी नेतृत्वको ध्यानाकर्षण भएको समेत जिकिर गरे । ‘केही कमजोरी भएका छन् भने त्यसलाई सच्याउन चाहान्छौं । हामीभित्र केही अपुग छन् भने त्यसलाई पूरा गराउने बाटोमा जान चाहन्छौं ।’ उनले भने–‘तर इतिहासको चक्कालाई पछाडि धकेल्ने, जनयुद्ध र जनआन्दोलनका हजारौं सहिदहरु र लाखौं जनताको त्यागबाट प्राप्त भएको गणतन्त्र र लोकतन्त्रलाई उल्ट्याउने कुनै हालतमा छुट दिन सकिँदैन ।’ 

प्रचण्डले पछिल्लो समय गणतन्त्रका पक्षधर,सहिदहरु र नेताहरुलाई अपमान गर्ने गतिविधि भइरहेको प्रति चिन्ता ब्यक्ति गर्दै प्रतिक्रान्तिको खतरा देखिएको टिप्पणी गरे । ‘सहिदहरुको बलिदानले युगान्तकारी परिवर्तनको आधारशीला खडा भएको थियो, त्यसलाई अपमानित गर्ने, सहिदहरुलाई अपमानित गर्ने या अवमूल्यन गर्ने, नेताहरुलाई बदनाम गर्ने नियोजित षड्यन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउँछ,’ प्रचण्डले भने ।   

उनले चिहानमा पुगिसकेका फेरि फर्केर आउने भन्ने विज्ञानले समेत नमानेपनि प्रेतआत्मा बेला बेलामा आउने र जिवित मान्छेहरुलाई कुनै रुपले दुःख दिने गर्दारहेछन् भन्दै राजसंस्था पुर्नवहालीमा उठेका आवाजप्रति केन्द्रित भए । ‘कहिलेकाहीँ सिंहको अगाडि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन । सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ ।’ प्रचण्डले भने । 

प्रचण्डले बर्तमान समय संक्रमणकालीन नै रहेको भन्दै यस्तो बेलामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउनुपर्ने र जनतालाई अझ धेरै सकारात्मक परिणामहरु दिनुपर्नेमा जोड दिए । पार्टी एकता प्रक्रिया केही ढिला भएको र सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप प्रति प्रचण्डको स्विकारोक्ति थियो । 

तथापि, उनले बर्तमान सरकारले राम्रा काम पनि गरेको स्मरण गर्दै जनतालाई बुझाउन भने नसकिएको बताए । सरकारले गरेका राम्रा काम जनता माझ लैजान अब कार्यकर्ता र जनपरिचालनका लागि देशव्यापी अभियान चलाउने बताए । ‘हामीले पार्टी एकता प्रक्रियालाई अन्तिममा पुर्याएका छौं, अब देशव्यापी रुपमा कार्यक्रम लिएर कार्यकर्ता पंक्ति र जनताको पंक्तिमा जाने र एकचोटि हजारौं लाखौं जनतालाई अपिल गर्नेछौं ।’ प्रचण्डले भने ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *