प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर निकालियो
भाद्र २५, काठमाडौँ । हालै स्वास्थ्य उपचार सिंगापुरमा गराई स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर निकालिएको छ ।
बुधबार बिहान त्रिवि शिक्षण अस्पतालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले क्याथेटर निकालेका हुन् ।
सिंगापुरमा प्लाज्मा फेरेसिस गर्दा ओलीको मुटुमा राखिएको क्याथेटर निकालिएको र अरु थप उपचार गर्नु नपरेको मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले जाकारी दिएका छन् ।
उनले भने ‘प्लाज्मा फेरोसिस गर्दा प्रधानमन्त्री ज्यूको मुटुमा राखिएको क्याथेटर हामीले निकालिदिएका हौं । उहाँलाई अरु थप उपचार गर्नु परेन ।’
क्याथेटर निकाल्न करिब १०–१५ मिनेट लागेको र त्यसपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएको जानकारी दिंदै उनले भने ‘उहाँ स्वस्थ हुनुहुन्छ ।’
१० वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली गत वर्ष पनी सोही सेन्टरमा भर्ना भएर मुटुको उपचार गराएका थिए ।