प्रज्ञामा नेपाल भाषाका महाकविको १५२ औं जन्मजयन्ती

भाद्र २६, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषाका महाकवि सिद्धिदास महाजु अमात्यको १५२ औँ जन्मजयन्तीका अवसरमा उनको व्यक्तित्व तथा कृतित्वका बारेमा विचार गोष्ठीको आयोजना गरियो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गोष्ठीमा बोल्दै मातृभाषामा योगदान पु¥याएका स्रष्टाहरूका सम्झनामा प्रज्ञा–प्रतिष्ठानले कार्यक्रम आयोजना गर्ने गरेको बताए । ‘एक समाजले अर्को समाजलाई बुझ्नका लागि मातृभाषाले धेरै सहयोग पुर्याइरहेको हुन्छ ।
नेपाली समाज बहुल छ र त्यो बहुलताको अस्तित्वबाटै नेपाली समाज अघि बढेको छ ।’ उनले गोष्ठीबाट नेपाल भाषाका महाकवि सिद्धिदासको जीवनीका बारेमा थप जान्ने मौका मिलेको बताए ।

उपकुलपति डा. जगमान गुरुङले समय समयमा विविभन्न ठाउँमा महामानवहरूको जन्म हुने गरेको उल्लेख गर्दै नेपाल भाषाका महाकवि सिद्धिदास महाजु यस्तै महामानव भएको बताए । उनले मातृभाषामा योगदान दिएका साहित्यकारहरूकै कारण देशभित्रका विभिन्न समुदायका मातृभाषाहरू लोप हुनबाट जोगिएको बताए ।
सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जीवनभरि साधना गरेर करिब ५० ओटा कृति प्रकाशनमा ल्याउने महाकवि महाजुको स्मृतिमा कार्यक्रम आयोजना गरेर प्रज्ञा–प्रतिष्ठानले सार्थक कार्य गरेको अनुभूति भएको बताए । कार्यक्रमकी संयोजक एवम् साहित्य (मातृभाषा) विभागकी प्रमुख प्राज्ञ लक्ष्मी मालीले नेपालमा बोलिने १२३ भाषा र तिनको साहित्यको संरक्षण र विकासमा आफ्नो विभागले गम्भीरतापूर्वक काम गरिरहेको बताइन् ।
‘सबै मातृभाषामा लेखिएका साहित्यिक सिर्जना हाम्रा सम्पत्ति हुन् भने भाषा, साहित्य र संस्कृति एकआपसमा अन्र्तसम्बन्धित पक्षहरू हुन् । यिनको विकास गर्नु हाम्रो दायित्व हो ।’ उनले भनिन् । महाकवि सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जनकण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध, शारदा भजन, सुखदुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जनहृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाश लगायतका ५० ओटा कृति प्रकाशित छन् ।
गोष्ठीमा महाजुले नेपालभाषाको साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै उनको कृतित्व र व्यक्तित्वमाथि ‘महाकवि सिद्धिदास महाजुको व्यक्तित्व एवम् कृतित्व’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा. ओमकारेश्वर श्रेष्ठले दुःखकष्ट सहन बाध्य हुँदाहँुदै पनि ५० ओटा कृति दिएर नेपाल भाषाको उत्थानका लागि महाकविले ठूलो योगदान पुर्याएको बताए । ‘रोजीरोटीका लागि मजदुरी गर्दै आफ्नो मातृभाषाको विकासमा आफै खर्च गरेर पुस्तक प्रकाशन गर्नु निकै गाह्रो विषय थियो तर पनि उनले लेख्ने प्रकाशन गर्ने काम गरे । उनको योगदानको जति बयान गरेपनि कम हुन जान्छ ।’









