भारी वर्षाको कारण नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी

भाद्र ३१, काठमाडौँ । लगातार परेको भारी वर्षाको कारण नदीको बहाव बढ्नाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।
भारी वर्षाको कारण देशका बिभिन्न जिल्लाका नदीमा बहावले सतर्कता तह पार गर्न सक्ने भएकोले मंगलबार, बुधबार उच्च सतर्कता अपनाउन महाशाखाले सूचना जारी गर्दै चेतावनी दिइएको हो ।
विशेष गरी कोसी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, आरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैया लगायत मकवानपुर बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलबस्तु तथा दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने र केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन भनिएको छ ।

जारी सूचनामा भनिएकाे छ, ‘कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने सम्भावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा मंगलबार बेलुकी सम्मै उच्च सतर्कता अपनाउनुहोला ।’








