भक्तपुरमा भेटियाे १२ जनामा डेङ्गु
भाद्र १५, भक्तपुर । देशभरी फैलिँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यसवर्ष चार दोबर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिए ।
भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको संक्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।रविभूषण सुवालले जानकारी दिए । यहाँ डेङ्गुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गतवर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यसवर्ष डेङ्गु संक्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान सुरु गरिएको छ । कार्यालयले डेङ्गु संक्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहोर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको संक्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । रासस