‘पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई दिनुपर्छ’ युवराज ज्ञवाली

भाद्र २१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउनुपर्ने र पार्टी चलाउने जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताए ।   

शनिबार रिपोर्टर्स क्लबमा बोल्दै नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरु भैसकेको स्पष्ट पारे । ‘हाम्रो पार्टी अहिले सत्तामा छ । वडाअध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन् । सरकार र पार्टी सञ्चालन गर्नु दुवै विषय उत्तिकै महत्वपूर्ण छ । त्यसैले एक व्यक्ति एक प्रमुख जिम्मेवारी दिनुपर्छ ।’ 

साक्षात्कारमा बोल्दै ज्ञवालीले पार्टी र सरकारबीच अन्तरसम्बन्ध रहेको सुनाए । तर, पार्टी र सरकार चलाउने अलग–अलग विधान रहेको उनको भनाई छ । ‘सरकार जनतामा आधारित छ । पार्टीपनि जनआधारित हुन्छ । नेकपा जनआधारित कार्यकर्ता आधारित पार्टी हो । पार्टीभित्र एक व्यक्ति, एक प्रमुख जिम्मेवार दिनुपर्ने कुरा टेक्निकल जस्तो लाग्न सक्छ । तर, अब यसलाई लागु गर्नुपर्छ । अहिले त आवाज उठ्न थालिसकेको छ ।’ उनले भने । 

अहिलेपनि पार्टीका नेता तथा कार्यकर्ताहरु सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहेको सुनाउँदै ज्ञवालीले यसले राम्रो नतिजा नदिने टिप्पणी गरे । उनले भने,‘कुनै नगरपालिकाका प्रमुख, पार्टी कमिटिको अध्यक्षको रुपमा कार्यरत छन् । अब त्यहाँ के होला ? त्यहाँको कामको मुल्यांकन कसले गर्ने ? त्यसैले यस्तो अवस्थामा राम्रो परीणाम आउँदैन ।’   

उनले नेकपाभित्र अब चीन र रुसजस्तो एकै व्यक्तिले पार्टी र सरकार चलाउन नहुने धारणा राखे । ‘हामी चीन र रुसले जस्तो चलाउन सक्दैनौं । सरकार चलाउनको लागि प्रधानमन्त्रीको धेरै व्यस्तता हुन्छ । अब प्रधानमन्त्री सरकारमा मात्रै केन्द्रित हुनुपर्छ । पार्टीको जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ ।’   

पार्टीको महाधिवेशन नहुञ्जेलसम्म नेकपाभित्र दुई अध्यक्ष बाध्यता भएको उनको भनाई छ । ‘केन्द्र, प्रदेश र स्थानीय तहमा पनि एक व्यक्ति, एक प्रमुख जिम्मेवारी नियमलाई लागु गर्नुपर्छ ।’–उनले भने । ज्ञवालीले अब आउने स्थायी समिति र केन्द्रिय समितिको बैठकमा ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्थाबारे निर्णायक छलफल हुने सुनाए ।   

उनले वर्तमान प्रधानमन्त्री ओली संसदबाट निर्वाचित प्रधानमन्त्री भएकोले र उनले दुई वटा बजेट ल्याएकोले बजेट कार्यान्वयन लगायतका काम गर्नपनि प्रधानमन्त्रीबाट ओलीलाई बदल्न नहुने जिकिर गरे । उनले भने,‘सरकारको नेतृत्व ओलीजीले गर्ने हो र प्रचण्डजीलाई पार्टी चलाउन एकल अधिकार दिनुपर्छ । प्रधानमन्त्रीमा ओलीजीलाई पार्टीभित्रबाट भरपुर सहयोग गर्नुपर्छ ।’ नेता ज्ञवालीले प्रचण्डलाई पार्टी अध्यक्षको जिम्मेवारी दिईए राम्रोसँग सञ्चालन हुने र यसले राम्रो नतिजा दिनेपनि विश्वास दिलाए । त्यस्तै, उनले वर्तमान सरकारले राम्रै काम गरिरहेको पनि सुनाए । उनले भने,‘सरकार चलेकै छैन भन्ने होईन । तर, अझै धेरै गर्नुपर्छ । अहिलेपनि सरकारले धेरै राम्रा राम्रा निर्णयहरु गरेको छ ।   

फरक प्रसँगमा उनले एनसेलबारे कर विवादको प्रसँगमा संसदीय समितिले छानबिन तथा अध्ययन गरिरहेको सुनाए । ‘संसदीय समितिमा यस विषयमा गम्भिर रुपमा छलफल भैरहेको छ । समिति आफ्नो अध्ययन तथा अनुसन्धानपछि उचित निश्कर्षमा पुग्छ भन्नेमा म विश्वस्त छु ।’ 

सत्तारुढ दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संविधान संशोधनसहित दुई बुँदे सहमति गरेर सरकारमा सहभागी भएको सुनाउँदै उनले कुन विषयमा संविधान संशोधन गर्ने भन्ने कुराको आवश्यकत्ता हेरिने पनि जिकिर गरे । सरकारमा बस्ने वा छोड्ने ? भन्ने कुरामा उपेन्द्र यादवले आफ्नो निर्णय गर्नसक्नेपनि उनको तर्क छ । ‘कतिञ्जेल सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा त्यो त उपेन्द्रजीले जान्ने कुरा हो ।’ 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *