काठमाडौंमा ‘चेयरपर्शन क्लब’ समारोह सम्पन्न

असोज ५, काठमाडौं । श्री नेशनल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडको वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन ‘चेयरपर्शन क्लब’ समारोह सम्पन्न भएको छ ।   

आज (आइतबार) काठमाडौंमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५÷०७६ मा मुलुक भरी रहेका कम्पनीको ४७ हजार ४ सय अभिकर्ताहरु मध्ये उत्कृष्ट व्यवसाय गर्ने २ सय ३७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।   

कार्यक्रमको उद्घाटन गर्दै कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले कम्पनीको विविध पक्षबारे जानकारी गराउँदै कम्पनी वित्तिय एवं संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बीमा कोष रु.२७ अर्बभन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको रु.२ अरब लाई पार गरेर हाल रु.३ अरब पुगेको जानकारी गराइन् ।   

श्रीमती सिंहले वर्तमान प्रतिष्पर्धात्मक बजारमा कम्पनीले व्यवसाय विस्तारको लागि शाखा विस्तार, प्रविधिमा लगानी र नँया बीमालेखहरुमा विशेष ध्यान दिइएको उल्लेख गरिन् ।   

व्यवसाय विस्तारसँगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत विशेष ध्यान दिएको र गत वर्ष देखि विपन्न वर्गका वाल(वालिकाहरुलाई शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराउने हिसाबले ‘बालबालिका शिक्षा योजना छात्रवृत्ती कार्यक्रम’ संचालन गरेकोमा गत वर्ष ६ जना विपन्न वर्गका बालबालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराइएको र चालु वर्षमा थप ९ जना गरी हाल सम्म जम्मा १५ जना बालबालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराइएको पनि उनले जानकारी दिइन् ।   

समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः रु.४ लाख, रु.३ लाख र रु.२ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो । साथै व्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितिय एवं तृतिय हुनेलाई क्रमशः रु.२.५० लाख, रु.२ लाख र रु.१ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । यसै गरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ ।   

समारोहमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने प्रयोजनको लागि मित्र राष्ट्र भारतबाट आएका प्रख्यात प्रशिक्षक टिएस मदानबाट प्रशिक्षण कार्यक्रम संचालन गरिएको नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी दिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *