युरिया मलको हाहाकार, ३ किलो मललाई तछाडमछाड

भाद्र २९, चितवन ।  भरतपुरको दुरसंचार रोडमा बिहानैदेखी किसानहरुको बाकक्लो उपस्थिती देखिन्थ्यो । हातमा खाली बोरा लिएका किसानहरुको लाईन लामै थियो ।  

कोही तछाडमछाड गर्दै अगाडी वढ्न खोज्दै थिए । किसानको वाक्लो उपस्थितीले लाईन अस्तव्यस्त रहेको थियो । रासायनिक मलका लागि किसानहरु लाईनमा वसेका थिए । हाम्रो बहुदेश्यीय कृषि सहकारी संस्थाले किसानका लागि युरिया मल वितरण गर्न लागेपछि किसानहरु लाईनमा बसेका हुन् ।  

भरतपुर महानगरपालिका ११ कोलटाँडीका किसान खगेश्वर वस्याल करिव १ घण्टा भन्दा बढी लाईनमा बसे । तर उनी लाईनमा धकेलाधकेल हुन थालेपछि लाईनबाट बाहिरिए । एक बिगाहामा धानखेती गरेका उनलाई एक बोरा युरिया मल आवश्यक थियो । तर उनले एक किलो पनि पाएनन् ।  

किसानको भिड अत्याधिक भएपछि सो सहकारीले ३ किलोका दरले मल वितरणको तालिका मिलाएको थियो । एक बोरा मल आवश्यक छ, तीन किलो मात्र दिईरहेको छ, कोलटाँडीका किसान वस्यालले भने मर्नु भन्दा वौलाउनु निको सम्झेर लाईनबाट निस्किए ।  

उनले साउन ८ गते धान रोपेका थिए । रोपाई भएको दिनदेखी उनले युरिया मल खेतमा हालेका छैनन् । रोपाई भएको दिन डिएपी मल छरियो उनले भने –  समयमै मल हाल्न नपाउँदा उत्पादन कम हुने चिन्ता छ । मल लिनका लागि उनी विहान ९ बजेनै सहकारी अगाडी आएका थिए । उनी मात्रै होईन सयौं किसानहरु मलका लागि बिहानैदेखि लाईनमा बसेका थिए । 

 मल नपाएपछि केही किसानहरु भन्दै थिए – राज्य नालायक भयो, किसान जहिले पनि मरेको मरै हुने भए । लाईनमा वृद्धवृद्धा किसानहरु समेत बसेको देखिन्थ्यो । मल वितरण सहज बनाउन जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी समेत परिचालन गर्नु परेको थियो । 

चितवनमा प्रत्येक वर्ष १५ हजार मेट्रिक टन मल आवश्यक पर्छ । तर जहिले पनि माग अनुसार मल आपूर्ती हुन सकेको छैन् । कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रवन्धक रविन्द्र गौतमका अनुसार जिल्लामा १० हजार मेट्रिक टन मात्रै मल आपूर्ती हुँदै आएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *