सौराहालाई अन्य पर्यटकीय क्षेत्रसँग जोड्छु: अध्यक्ष भट्टराई


भाद्र २४, चितवन । क्षेत्रीय होटल संघ नेपाल चितवनको नवनिर्वाचित कार्यसमितिलाई रत्ननगर उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।
मंगलवार एक कार्यक्रमको आयोजना गरि संघले दुवै संस्थाबीच सहकार्य हुनु पर्नेमा जोड दियो । रत्ननगर भित्रै रहेपनि उद्योग वाणिज्य संघले क्षेत्रीय होटल संघलाई पहिलो पटक स्वागत गरेको हो । सो अवसरमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले दुई संस्थाबीच सहकार्य गरेर नेपाल भ्रमण वर्षलाई सफल वनाउनु पर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का कोषाध्यक्ष ज्ञानवहादुर विसुरालले सौराहामा मात्रै केन्द्रित भएर चितवनको पर्यटन प्रवद्र्धन नहुने भन्दै जिल्लाको सम्भावित पर्यटकीय क्षेत्रहरु परेवाकोट, कंकालीकोट, सिराईचुली, उपरदाङगढी लगायतलाई जोडेर पर्यटनको विकास गर्नु पर्ने सुझाव दिए । क्षेत्रीय होटल संघ नेपाल चितवनका नवनिर्वाचित अध्यक्ष दिपक भट्टराईले संघले सौराहालाई जोडेर सात पर्यटकिय गन्तव्य सम्म पर्यटक पुर्याउने वातावरण वनाईसकेको भन्दै अझ यसलाई विस्तार गर्ने वताए ।
आफ्नो कार्यकालमा विषेशत पूर्वी चितवनका पर्यटकिय क्षेत्रलाई जोडेर पर्यटन प्रर्वधनमा लाग्ने उनले प्रतिवद्धता जनाए । सौराहामै केन्द्रित हुँदा पर्यटन व्यवसाय दिगो नहुने हामीलाई पनि लागेको छ होटल संघका अध्यक्ष भट्टराईले भने ‘समग्र पूर्वी चितवनका पर्यटकीय गन्तव्यलाई जोडेर विकास गर्न प्रतिवद्ध छु ।’ सौराहा प्रवेश गरेको अनुभुती दिलाउन सडकको दुवै तर्फ हरियाली वनाउनु पर्ने उनको भनाई छ ।
क्षेत्रीय होटल संघका पदाधिकारी र सदस्यहरुलाई रुद्राक्षको माला लगाएर स्वागत गरिएको थियो । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे,रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष केशवनारायण श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
