अनुगमनको नाममा सरकारी नाटक सुरु भयोः अध्यक्ष बानियाँ

असाेज ६, काठमाडाैँ ।  उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको आरोप लगाएका छन् ।  

उनले भने, ‘अहिले सरकारी नाटक सुरु भएको छ । बास्तविक अनुगमन भएकै छैन् ।’ उनले बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनलाई अहिले भ्याईनभ्याई भएको टिप्पणी गरे । उनले भने,‘एकजनालाई धेरै जिम्मेवारी दिईएको छ, त्यसैले उहाँलाई भ्याईनभ्याई छ ।’ 

उनले ऐन र कानूनबमोजिम अधिकार प्रत्यायोजन नभएकोमा गुनासो पोखे । उनले सिडिओहरु कामविहीन भएको बताए । उनले भने,‘महानिर्देशकज्यू, सिडिओहरुलाई अधिकार दिन किन हिचकिचाउनु भएको हो ?’ उनले डिजीलाई कानून पढ्न समेत सुझाव दिए । मन्त्रीको निर्देशनमा सिडिओलाई अधिकार प्रत्यायोजन नगरिएको उनको आरोप छ । उनले भने,‘कानूनलाई बग्न दिनुपर्छ । कानून पढ्न नजाने सहयोगी राखेरपनि पढ्नुहोस् ।’ 

बानियाँले अहिले बजार बजारजस्तो नभएको पनि टिप्पणी गरे । उनले भने, ‘अहिले उपभोक्तालाई लुट्ने काम भैरहेको छ । सरकारले बजार हेरेकै छैन् । विभाग अहिले अलमलिएको छ । जनता लुटिएका छन् ।’ उनले यातायात व्यवसायीहरुले एजेण्टको काम गरेको सुनाए । उनले यात्रुलाई दुःख र सास्ती नदिनपनि व्यवसायीहरु समक्ष आग्रह गरे ।   

त्यसैगरी यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) ले दशैंमा काठमाडौं उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको सुनाए । सिटौलालले भने,‘असोज १२ गतेदेखि १८ गतेसम्मको ६ दिनको अवधिमा झण्डै २० लाख यात्रु काठमाडौं बाहिर जान्छन् । हामी त्यसको लागि राम्रो व्यवस्थापन गर्नेगरि गृहकार्यमा जुटेका छौं ।’   

उनले यसपटक आफूहरुले अनलाईनमार्फत टिकट बुकिङ गर्ने अपेक्षा गरेपनि अन्तिम समयमा आएर त्यस्तो व्यवस्था गर्न नसकेको सुनाए । उनले भने, ‘अनलाईनमार्फत बुकिङ हुनुपर्दथ्यो, तर लाईन बस्नु पर्यो त्यो दुर्भाग्य हो । यातायातमा मात्रै होईन, सबै क्षेत्रमा यही बेतिथि छ, हामीले यो प्रथाको अन्त्य गर्नुपर्छ ।’ 

उनले अग्रिम बुकिङ हिजोबाट खुलेको सुनाउँदै पहिलो दिन भीड लागेको बताए । तर, आजबाट टिकट काट्दा त्यस्तो भीड नभएको पनि उनले स्पष्ट पारे । उनले यात्रुहरुको चापलाई ध्यानमा राखेर गुल्मी र अर्घाखाँची जाने यातायातको संख्या थप गरिएको पनि जनाए । यातायातसम्बन्धी तीन तहको सरकारले स्पष्ट ऐन नल्याएको, यातायातमा लगानीको सुरक्षा नभएको लगायतका केही समस्या रहेको उनले सुनाए । त्यस्तै, उनले वीमा नीति पनि प्रष्ट हुनुपर्ने माग गरे ।   

सिटौलाले दश भन्दा कम मोडलका गाडी आफूहरुले सञ्चालन नगरेको पनि जिकिर गरे । गाडी ठिक छ वा छैन भन्ने कुराको प्राविधिक पक्ष सरकारले हेर्नुपर्ने उनको भनाई छ । उनले भने,‘म दावाका साथ भन्छु, हाम्रा गाडीहरु राम्रै छन् ।’ 

उनले सडकको स्तरोन्नती गर्नतर्फ सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘सडकको बारेमा कसले बोल्ने ? गाउँका सडकको त कुरै छोडौं, यहीँ काठमाडौंका सडकको बारेमा कुरा गरौं, सामाखुशीबाट टोखा जाने सडक हिँड्न सक्ने अवस्थामा छैन् ।’ सिटौलाले टिकमा कुनै समस्या नभएको पनि जिकिर गरे । उनकाअनुसार १२ गते घट्स्थापनादेखि फुलपातीसम्म काठमाडौं उपत्यका बाहिर जाने यात्रुको आँधीबेहरी नै आउँछ ।   

उनले यात्रुको चापलाई हेरेर आफूहरुले सोहीअनुसारको यातायात व्यवस्थापन गरेको सुनाए । यात्रुहरुलाई दुःख र मार नपरोस भनेर आफूहरु असाध्यै खटेको पनि उनले स्पष्ट पारे ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *