होस्टल एसोसिएसनमा पाठक समूह विजयी

भदौ ९, काठमाडौं । नेपाल होस्टल एशोसिएसनको नयाँ नेतृत्वमा भक्ति पाठक समूह निर्वाचित भएको छ । काठमाडौंमा सम्पन्न सातौं बार्षिक साधारणसभामा भएको निर्वाचनमा पाठक समूहको पुरै टिम विजयी भएको हो ।   

एशोसिएसनको नयाँ नेतृत्वको लागि पाठक समूहको प्रतिद्वन्दीका रुपमा गोबिन्द गिरि चुनावी मैदानमा उत्रिएका थिए । निवर्तमान कार्यसमितिमा महासचिव रहेका गिरि जम्मा ३ मतको मात्र अन्तरले पराजित भएका हुन् ।   

एशोसिएसन निर्वाचन समितिका संयोजक सुबास कोइरालाका अनुसार कुल ६९२ जना मतदाता मध्ये ५४१ जनाले मतदान गरेका थिए । जसमा भक्ति पाठकले २६३ मत प्राप्त गरे भने गोबिन्द गिरीले २६० मत प्राप्त गरेका थिए । 

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा अरुण पराजुली मतका साथ विजयी भएका छन् । उनले केदार चम्लागाईलाई ४९ मत अन्तरले पराजित गरेका हुन् । महिला उपाध्यक्षमा सर्वा्धिक मत प्राप्त गर्दै ७३ मतान्तरका साथ निवर्तमान कोषध्यक्ष उर्मिला भट्टराई (बराल) ले ज्ञानु जोशीलाई पराजित गरेकी छिन् । 

महासचिवमा निवर्तमान काठमाडौं जिल्ला अध्यक्ष रुपाली गुरागाईं (पौडेल) ले ६४ मतान्तरका साथ निवर्तमान ललितपुर जिल्ला अध्यक्ष सुनिता बटाजुलाई पराजित गरेकी छन् । 

सचिवमा डण्डी प्रसाद गौतमले भिम भण्डारीलाई ५२ मत अन्तरले हराएका छन् भने कोषाध्यक्षमा पूजा जोशीले ६८ मतको अन्तरले बिभय पौडेललाई पराजित गरेकी छिन् । एशोसिएसनको बिधान बमोजिम निर्वाचित ६ जना केन्द्रीय सदस्यहरुमा कल्पना आचार्य, राजकुमार केसी, घनश्याम रिसाल, गणेश आचार्य, राधिका घिमिरे र हरि प्रसाद भेटवाल रहेका छन् । 

नेपाल होस्टल एशोसिएसनमा नेपालभरका लगभग ७ सय होस्टल सदस्य रहेका छन् । यसका काठमाडौँ, ललितपुर, काभ्रे, चितवन र मोरङ जिल्ला समितिहरु समेत बिस्तार भइसकेको छ । सातौं अधिवेशनले केन्द्रिय कार्य समितिमा जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहनेगरी विधान संशोधन प्रस्ताव समेत पास गरेको छ ।   

नव निर्वाचित अध्यक्ष पाठकका अनुसार होस्टल व्यवसायमा देखिएका विविध समस्याहरुको पहिचान र निराकरण अबको कार्यसमितिको प्राथमिक काम हुनेछ । त्यो बाहेक एशोसिएसनको संस्थागत गरिमा र व्यवसायिक मर्यादालाई केन्द्रमा राखेर आगामी दिनका लागी कार्यक्रमहरु तय गरिने पनि उनले जानकारी दिए । आजको आवश्यकता, र सामुहिक नेतृत्वको परिपार्टीलाई संस्थागत गर्दै व्यवसायीको हित रक्षार्थ आफ्नो समूह सधैँ सकृय रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।   

अब भक्ति पाठक समूहले आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका कुराहरु पुरा गर्नुपर्ने होस्टल व्यवसायी तथा निर्वाचन समितिका संयोजक सुबास कोइरालाको जोड छ । पाठक समुहले आफ्नो चुनावी घोषणा पत्रमा सेवाग्राही (बिधार्थी) भर्ना फारम, बिदा फारम, आचार संहिता फ्लेक्स बोर्ड निशुल्क रुपमा वितरण गर्ने, होस्टलमा कामदारको सहज आपूर्ति व्यवस्था गर्ने र व्यवसायी, कामदार र सेवाग्राहीको समेत सामुहिक बीमाको व्यवस्था गर्ने कुरा उल्लेख गरेको थियो । 

त्यसैगरी होस्टल सञ्चालन मापदण्डको संशोधन, जिल्ला समितिहरुलाई सहज रुपमा केन्द्रसँगको समन्वयको व्यवस्था लगायतका विषयहरु पनि प्रतिवद्धता पत्रमा उल्लेख छन् ।   

व्यवसायीहरुलाई सुलभ स्वास्थ्य सुविधा लगायत धेरै तालिम र प्रशिक्षणहरुको आयोजना गर्ने लगायतका आकर्षक नाराका कारण पनि पाठक समूहले विजय प्राप्त गरेको हुनाले त्यो पुरा गर्नुपर्ने कुरामा व्यवसायी दिनेश महर्जनले जोड दिएका छन् । 

बि.स. २०६९ सालमा स्थापना भएको एशोसिएसनको यो पाँचौँ केन्द्रीय नेतृत्व हो । निवर्तमान अध्यक्ष सहित १३ सदस्यीय कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *