‘बिरामी हुँदाहुँदै मैँले सरकार बनाएँ, अझै २०/२५ वर्ष केही हुँदैन’

साउन ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी नभएको स्पष्ट पारेका छन् ।   

प्रधानमन्त्रीले आज (शुक्रबार) गृहजिल्ला झापाका पार्टी कार्यकर्ताहरुसँग बालुवाटारमा भेटघाटका क्रममा आफू तन्दुरुस्त रहेको स्पष्ट पारेका हुन् ।   

सिंगापुरमा स्वास्थ्य जाँच गर्दापनि पुनः प्रधानमन्त्री बिरामी भएको खबर आएपछि धेरैले चासो व्यक्त गरिरहेका छन् । बिहीबार प्रधानमन्त्रीलाई ज्वरो आएको भन्दै नेकपाको सचिवालय बैठक स्थगित गरिएपछि शुभचिन्तक चिन्तित भइरहँदा उनले बाहिर चलेको हल्लामा कुनै सत्यता नभएको भन्दै आफू स्वस्थ रहेको जानकारी गराएका हुन् ।   

प्रधानमन्त्रीले जनप्रतिनिधिसँग भने, ‘म सिकिस्तै भएको खबर सुनेर आउनु भएको होला । बाहिर चलेको हल्लामा कुनै सत्यता छैन । म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन ।हिजो ९९ डिग्री ज्वरो आएर एकछिन् आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ बर्षअघि मृगौला प्रत्यारोपण गराएका थिए । उनी सिंगापुरमा स्वास्थ्य परीक्षण गरी गएको सोमबार मात्रै स्वदेश फर्किएका थिए । उनी स्वास्थ्य परीक्षणको क्रममा १० दिन त्यहाँ बसेका थिए।   

प्रधानमन्त्रीले कार्यकर्तासँग भने, ‘मलाई बिरामी नै भन्ने हो भने पनि मैँले बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । बिरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएँ र बिरामी हुँदा हुँदै पार्टी एकीकरण गरेँ । अझै २०–२५ वर्ष केही हुँदैन भनेका छन् डाक्टरहरुले ।’ 

प्रधानमन्त्री बिरामी भएको भन्दै बिहीबार स्थगित गरिएको सचिवालय बैठक आज बालुवाटारमा जारी छ । बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको कार्यविभाजन, केन्द्रीय निकाय, विभाग र विशेष कमिटीबारे छलफल हुनेछ ।   

अन्य विभागको टुंगो लागेपनि स्कूल विभागको कुरा नमिल्दा तथा सबैले आ–आफ्नो अडान कायमै राख्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको छ । आजको बैठकले यसबारे पनि निर्णय लिने बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *