विप्लवका छोराको प्रश्नः चिकित्सा शिक्षाको शुल्क किन वृद्धि गरेको ?

भदौ ५, काठमाडौं । चिकित्सा शिक्षामा अनियमितता र माफियातन्त्र मौलाएर जथाभावी शुल्क असुल्ने तर श्रमिकहरुमाथि शोषण गर्ने गरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।   

रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गरी समितिले चिकित्सकको पारिश्रमिक वृद्धिदेखि शिक्षाका नाममा जथाभावी लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको हो ।   

समितिले भर्नाको हकमा पुनरावलोकन तथा कार्यान्वयन गरिनुपर्ने, विभिन्न विषयमा सरकारले तोकेको शुल्कको आधारसहित प्रष्ट पार्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब, सुरक्षा र अन्य सुविधाको व्यवस्था गरिनुपर्ने, पाठ्यक्रम परिमार्जन गरी प्रविधिमैत्री, गुणस्तरीय र विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउनुपर्ने, मेडिकल कलेजलाई सरकारले सहुलियतता प्रदान गरी मेडिकल कलेजले आम नागरिक र विद्यार्थीलाई सोही अनुसार सुविधा गर्नुपर्ने माग अघि सारेको छ । माग पूरा नभए कडा कदम चाल्न वाध्य हुने भनिएको छ ।   

संघर्ष समितिका अध्यक्ष प्रकाश चन्दले सरकारल चिकित्सा शिक्षाको शुल्क बढाएकोमा जवाफ दिनुपर्ने बताए । उनले भने, ‘सरकारले किन शुल्कवृद्धि गरेको हो जवाफ दिनुपर्छ ।’ सरकार आफैँ विधेयक बनाउने तर लागू नगर्ने गतिविधिमा संलग्न भएर चुकेको बताए । उनले मागहरु पूरा नभएसम्म आन्दोलनले अझ कडा रुप लिने चेतावनी दिए ।   

चन्दले मेडिकल शिक्षामा भ्रमहरु फैलाइएको बताए । चिकित्सकको पारिश्रमिक बढाउनुपर्ने भन्दै नेपाली समाजमा ‘डाक्टरहरु लुट्ने हुन्’ भन्ने आम भ्रम फैलाइएकोतर्फ गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘सरकार बजार भाउ बढाउने तर डाक्टरको तलब नतोक्ने गतिविधि गरिरहेको छ ।’   

एमबिबिए पढ्ने डाक्टर र प्राविमा कार्यरत शिक्षकको तलब एउटै रहेको हुँदा यसमा पनि सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम एउटै रहेकोमा समान बनाइनुपर्ने माग गरे ।   

त्रिविको कोर्ष लामो भएको हुँदा यसलाई छोट्याउन सरकारले विचार गर्नुपर्ने जोड दिए । सरकारले एकोहोरो नियम बनाएको हुँदा मेडिकल कलेज मारमा परेको र सरकारले मेडिकल कलेजले तिर्नुपर्ने करमा केही सहुलियत दिएमा विद्यार्थीहरुलाई नै सहज हुने बताए । यसमा सरकार र मेडिकल कलेजको समझदारी हुनुपर्ने र लोकसेवा आयोगमा उचित व्यवस्था हुनुपर्नेमा चन्दले जोड दिए ।   

राष्ट्रिय चिकित्साशास्त्रका संयोजक चन्दनरमण अधिकारीले आन्दोलन सफल बनाउनुपर्ने बताए । विद्यार्थीले गरेका हरेक आन्दोलनका कार्यक्रमले यो क्षेत्रमा राम्रो काम आएको र कुनै पनि चिकित्सालाई अगाडि बढाउनका लागि सबै एकजुट भएर आन्दोलन सफल पार्ने तर यसमा माफियाहरुको शक्ति भएकाले दबाउन खोजेको बताए ।   

तलबको समस्या आम चिकित्सा क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई भएको बताए । डाक्टरको सेवासुविधा वृद्धि हुनुपर्नेमा अधिकारीको जोड दिए । इन्ट्रासबाट आउने प्रतिस्पर्धी विद्यार्थीहरुका लागि ल्याबमा आवश्यक सामग्री छ, छैन भनेर सधैँ डिनको अफिसरलाई गुहार्ने गरेको पनि उनले खुलाए ।   

नेपाल डेन्टल एसोसिएसनका चिकित्सक दिपक ठाकुरले स्वास्थ्य क्षेत्र धमिराले खाएको अवस्था रहेको भन्दै देशमा स्वास्थ्य क्षेत्र नै समाप्त हुने खतरा औँल्याए । सरकारले लोकसेवा मार्फत चिकित्सकको सेवा सुविधा बढाउनुपर्ने बताए । देशमा चिकित्सक उत्पादन गर्न विदेश जाने र नेपालमा फर्केपछि व्यावसायिकरण हुने बताए ।   

स्वतन्त्र विद्यार्थी संगठनका अध्यक्ष मिलन गैरेले विद्यार्थी लुट्ने मनशायले लिएको शुल्क फिर्ता नगरे कडा कदम चाल्ने चेतावनी दिए । २०५७ सालमा भएको सम्झौता अनुसार सरकारले तोकेको भन्दा बढी शुल्क लिएमा एक महिनाभित्र फिर्ता गर्ने रहेको तर ३८ देखि ४२ लाखसम्म सकिने अध्ययन क्षेत्रमा ५१ लाख पुगेकोमा ज्यादती भइरहेको बताए ।   

माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । विद्यार्थीको हितका लागि आन्दोलनका क्रममा त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय बन्द गर्दै आएको पनि बताए ।   

गण्डकी मेडिकल कलेजका विद्यार्थी अनिल सिंहले अहिलेसम्म ५१ चरणको आन्दोलन गरिसकेको बताए । विद्यार्थीबाट लिइएको अतिरिक्त रकम एक महिनाभित्र फिर्ता गर्नुपर्ने, रकमको कारोबारमा बिल र भौचर हुनुपर्ने र यसमा भएका विकृति विसंगतीको अन्त्य हुनुपर्ने बताए । चिकित्सा अध्ययनलाई चुस्त, दुरुस्त, गुणस्तरीयता र मर्यादित बनाउन आम विद्यार्थीहरु लागि परेको बताए ।   

त्यसैगरी, चितवन मेडिकल कलेजका डक्टर हेमराज भण्डारीले सेवा नै धर्म भएको तर सेवा जस्तो क्षेत्रलाई कमाई खाने भाँडो बनाइएको टिप्पणी गरे । पारिश्रमीकमा शोषण, पैसा बढी लिएर कलेजले ठग्ने हुँदा विद्यार्थीको मात्र नभएर आम नेपालीको समस्या भएको बताए । कलेज संचालन गरे अनुसार विद्यार्थीलाई सेवा दिनुपर्ने बताए । चिकित्सा क्षेत्रमा २० लाखमा हुने पढाई करडौंमा पुगेको हुँदा गरिबका लागि चिकित्सा शिक्षा कल्पनाको विषय बताए ।   

जानकी मेडिकल कलेजका इन्टर्न डाक्टर अर्विन अधिकारीले आन्दोलनमा जान बाध्य भएको बताए ।  देशमा डाक्टर र बिरामी बिचको सम्बन्ध बिग्रेको स्थिति रहेको पनि उनले औँल्याए । इन्टर्नका डाक्टरहरुलाई एउटा प्रा.वि तहको शिक्षकको जति पनि पारिश्रमिक नभएको भन्दै कलेजले श्रम शोषण गरेको बताए । लाखौँ विद्यार्थीमाथि चलखेल भएकोले संघर्ष गर्न तयार रहेको कुरा बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *