अर्थमन्त्री भन्छन्– राजस्व छली गर्नेलाई कारवाही गरिन्छ

भदाै १३, काठमाडौं । सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ ।   

नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले जुनसकै बहाना बनाएर राजस्व छली गरेको भए पनि सरकारले कारबाही गरेरै छाड्ने बताए ।   

सरकारले व्यवसायी माथि दुःख दिने नियत नराखेको प्रष्ट पार्दै उनले इमान्दार भएर व्यापार व्यवसाय गर्नसमेत आग्रह गरे । ‘बदनियतपूर्ण ढङ्गले कर छली गरेको रहेछ भने मात्र दण्ड जरिवाना हुन्छ’, उनले भने, ‘नियतबस, सोझै राजस्व छलेको छ भन्ने पुष्टि भयो भने दण्डित हुनैपर्छ, किनकी मुलुकमा कानूनी राज्य छ, सबैले नियम कानून पालना ग¥यो भने मात्र स्वच्छ व्यवसाय गर्नेलाई न्याय हुन्छ ।’ 

Image result for अर्थमन्त्री खतिवडा

राजस्व चुहावट ऐनलाई पहिलेको भन्दा व्यवस्थित बनाइएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले राजस्व चुहावट नियन्त्रण गर्न यसअघिका तुलनामा व्यवस्थित प्रयासको थालनी गरिएको बताए ।   

‘व्यवसाय गर्नेलाई प्यान अनिवार्य’ 

कार्यक्रममा उनले व्यवसाय गर्नेलाई सरकारले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको बताए । उनले कुनै पनि मुलुकका नागरिकलाई नागरिकता जति अनिवार्य छ व्यवसाय गर्नेका लागि पनि प्यान उत्तिकै अनिवार्य भएको बताए ।   

‘प्यान नागरिकता जस्तै हो, अनौपचारिक व्यवसायलाई औपचारिक व्यवसायमा ल्याउन प्यान अनिवार्य गरिएको हो’, अर्थमन्त्रीले भने । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत आयआर्जनमा सङ्लग्नलाई प्यान अनिवार्य गरेको हो । सरकारले रु एक हजार भन्दा माथिको भुक्तानीका लागि प्यान नम्बर अनिवार्य गराएको छ । साउनमा महिनामा मात्रै झण्डै तीन लाखले प्यान नम्बर लिइ सकेका छन् । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *