मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘गल्ती भए पत्रकार, नेता कसैलाई कानूनले छोड्दैन, जनता ढुक्क भए हुन्छ’

भदौ १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। 

ढोरपाटन दैनिकको १६औँ वार्षिकोत्सवको अवसरमा आइतबार बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा मन्त्री बाँस्कोटाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा ढोरपाटनको पहिचान हराउन नदिने गरी अगाडि बढ्नुपर्ने धारणा राखे। 

समृद्धिका नाममा प्रकृति मास्न नहुने बताउँदै उनले भने, ‘पृथ्वी मासेर समृद्धि आउँदैन। नेपाल चिनाउने ढोरपाटनलाई पुरानै अवस्थामा राखौँ, पर्यटनको विकास गरौँ।’ उनतले बागलुङ जिल्ला संस्कृतिमा समेत धनी रहेको बताउँदै गीत सङ्गीतले बागलुङलाई विश्वमै चिनाएको दावी गरे। 

Image result for सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा

खानी, पानी, श्रम र संस्कृतिले नेपालको समृद्धिलाई अगाडि बढाएको भन्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए। ‘समृद्धि त हासिल गरेरै छाड्छौँ’, उनले भने, ‘लगानी र प्रतिफलतर्फ सरकार अग्रसर छ, जनता ढुक्क भए हुन्छ।’ 

‘धरहरा, अन्तरराष्ट्रिय विमानस्थल जस्ता कार्य निर्माण हुनु भनेको नै समृद्धि हो’, उनले भने, ‘काम भएन भएन भन्नेले केही वर्षमा देशले हासिल गरेको प्रगति देख्नेछन्।’ 

उनले समृद्धिको आधारका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग, कालीगण्डकी करिडोरलाई उपयोग गर्न सक्नुपर्ने बताए। ‘समृद्धिका सपना पूरा गर्न यसका आधार निर्माण गर्नेतर्फ सरकार लागिपरेको छ’, मन्त्री बाँस्कोटाले भने, ‘समृद्धि र सुखी’ भन्ने नारा जनताको सङ्कल्प हो। यसलाई पूरा गराउन सरकार प्रतिबद्ध छ।’ 

मन्त्री बाँस्कोटाले डिजिटल नेपाल निर्माणमा आफू लागेको बताउँदै फोरजी, स्याटलाइटजस्ता सञ्चार प्रविधिको विकासमा नेपालले फड्को मारेको उल्लेख गरे। सरकारले यस वर्ष पत्रकारसम्बन्धी १२ वटा कानून बनाउन लागेको जानकारी गराउँदै मन्त्री बाँस्कोटाले यो वर्ष पत्रकारका लागि महत्वपूर्ण रहने बताए। 

फरक प्रसंगमा मिडियालाई अपराध लुकाउन हैन, देखाउनका लागि उपयोग गर्न मन्त्री बाँस्कोटाले पत्रकारलाई आग्रहसमेत गरे। ‘प्रहरीले स्वतन्त्ररुपमा कुनै पनि घटनाको अनुसन्धान गर्न सक्छ’, उनले भने, ‘गल्ती भए पत्रकार, नेता कसैलाई कानूनले छोड्दैन।’ रासस 

प्रतिकृयाहरु
Loading...