‘नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या’

भदौ ८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनामा नेताहरुले नै असहयोग गरेको भन्दै गुनासो गरेका छन् ।
आइतबार ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले रोजगारदाता प्रतिष्ठानका राजनीतिक दलसँग जोडिएका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या भएको गुनासो गरेका हुन् ।
‘नेताहरुका प्रतिष्ठान, कलकारखानाहरु नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आएनन् । रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी बहाना मात्रै हो । नेताहरुद्धारा सञ्चालित प्रतिष्ठानको सूचीकरण नहुनुले नै कानुन कार्यान्वनमा समस्या सृजना भएको छ । रोजगारदाता प्रतिनिधिहरुले मेरो यो भावनालाई विनम्रताका साथ उहाँहरुसमक्ष पुर्याइदिनुहोला,’ मन्त्री विष्टले भने ।

मन्त्री विष्टले सरकारले औद्योगिक क्षेत्रहरुमा कर्मचारी नै परिचालन गरी सबैको सामाजिक सुरक्षा योजनामा सूचीकरण गर्ने काम गरिने बताए । ऐन बनेको एक बर्षसम्म पनि श्रमिकहरु सामाजिक सुरक्षा योजनाबारे जानकार नरहेको भन्दै उनले योजनाको फाइदाबारे जानकारी गराउनुपर्ने आवश्कता औँल्याए । समाजिक सुरक्षा सुचिकरणको अभियान अघि बढिसकेको र असोज मसान्तभित्र रोजगारदाता र श्रमिक दुवै सूचीकरणमा आउनै पर्ने भन्दै उनले सो क्रममा परेका अप्ठ्याराहरुलाई सम्बोधन गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिकबाट संकलन गरेको रकमबापत प्रधान गर्ने स्वास्थ्योपचार, दुर्घटना तथा अन्य सेवा सुविधा अत्यन्तै न्यून प्रतिशत रहेको, वृद्ध अवस्था सुरक्षा सुविधाका लागि कम्तीमा १५ वर्ष योगदान दिएको हुनुपर्ने, योगदानबापत संकलित रकमको सुनिश्चितता लगायत विषयमा देखिएका जटिलताका कारण यसतर्फ श्रमिकले चाखो देखाएका छैनन्।








