स्थानीयवासीले आफ्नो घर आफैँ भत्काएपछि…

फाइल तस्वीर
साउन २८, खोटाङ । बिहान ११ बजेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दैनिक उपभोग्यवस्तु किनमेल गर्ने सर्वसाधारणको बाक्लै चहलपहल शुरु भइसकेको थियो । किनमेल गर्ने र प्रशासनिक काम गर्न गाउँबाट आएका सर्वसाधारणको हुललाई उछिन्दै हेलमेट लगाएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली हातमा ढाल र लाठी बोकेर रत्नपार्कतर्फ जाँदै थियो ।
null
केही छिनपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी सुरक्षाकर्मीको घेराभित्र डोजर लिएर रत्नपार्क पुगे । करीब १२ बजे रत्नपार्क पुगेका नगरपालिकाका कर्मचारीको सोमबारको काम (ड्युटी) थियो मापदण्डविपरीत बनेका घरटहरा जसरी पनि डोजर लगाएर भत्काउने । तर, रत्नपार्कका स्थानीयवासीले प्रहरी र कर्मचारी आइपुग्नुअघि नै आफ्नो घर आफैँ भत्काउन थालिसकेका थिए ।
सुरक्षाकर्मीको दलबलसहित रत्नपार्क पुगेका कर्मचारी दिनभर स्थानीयवासीले आफ्नो घर आफैँ भत्काएको दृश्य रमिते बनेर हेरिरहे । नगरपालिकाको योजना शाखा अधिकृत सीताराम खतिवडाको नेतृत्वमा गएको प्राविधिकसहितको टोली करीब पाँच बजे आफ्नो ड्यूटी समय सकाएर कार्यालय फर्कियो ।
मापदण्डविपरीत बनेका घरटहरा हटाएर आफ्नो नगरपालिकालाई व्यवस्थित बनाउन नगरपालिकाले साउन २० गतेदेखि अभियान शुरु गरेको थियो ।
यसबीचमा नगरपालिकाले मापदण्डविपरीत बनेका करीब डेढ दर्जन घरटहरा हटाइसकेको छ । लामो समयदेखि नगरपालिकाको मापदण्ड मिचेर बसेका सबैको घर तथा टहरा हटाउन नगरपालिकाले डोजर नै प्रयोग गर्नुपरेको थियो ।
यतिसम्म कि अभियानको पर्सिपल्ट साउन २२ गते डोजर लगाएर घरटहरा भत्काउँदा स्थानीयवासीले कर्मचारीमाथि हातपात नै गरेका थिए । स्थानीयवासीको अवरोधका बाबजुद नगरपालिकाले डोजर लगाएर रत्नपार्कमा सञ्चालित मोटरसाइकल वर्कसप रहेको टहरा तथा आसपासका स्थानीयवासीको घरटहरा हटाएरै छाडेको थियो ।
सुरक्षाकर्मीको बलमा सामान हटाउन नदिई जबर्जस्ती डोजर लगाएपछि प्रतिकारमा उत्रनुपरेको स्थानीयवासीले बताउँदै आएका छन् । तर, यसपटक भने त्यस्तो अवस्था आएन । रत्नपार्कका स्थानीयवासी रामकाजी खत्रीलगायतले आफ्नो घरटहरा आफै भत्काएर नगरपालिकाको अभियानमा सहयोग गरेका छन् ।
नगरपालिकाको अभियानमा आफूहरुको पनि साथ रहेको भन्दै उनीहरु आफैँले कामदार लगाएर दुई टहरा तथा एक घर आफैँले भत्काएका हुन् ।
नगरपालिकाले जसरी पनि घरटहरा भत्काउने भएपछि आफ्नो घर आफैले भत्काएको लाहुरे हार्डवेयरका सञ्चालकसमेत रहेका खत्रीले बताए ।
मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक-पटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेरी गरेपछि गत सोमबारबाट डोजर प्रयोग गरेर हटाउन शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।
नगरपालिकाले जसरी पनि घरटहरा हटाउने भएपछि अहिले दिक्तेलबजार तथा आसपासका स्थानीयवासीले आफ्नो घरटहरा आफै हटाउन शुरु गरेका छन् ।
मापदण्डविपरीतका घरटहरा हटाउन नगरपालिकाले समयसीमा पनि दिएको छ । दिक्तेलबजारको अल्छेढुङ्गाबाट शुरु गरिएको अभियान क्रमशः नगरपालिकाको सबै वडामा पु¥याइने नगरउपप्रमुख विणादेवी राईले बताइन् । “पहिलो चरणमा दिक्तेलबजारका घरटहरा हटाउन थालिएको छ”, उनले भनिन्, “दोस्रो चरणमा घरटहरासँगै अन्य संरचना भत्काएर व्यवस्थित गरिनेछ ।”
सडकको दायाँ ३१ र बायाँ ३१ मिटर छोडेर मात्र भौतिक संरचना तथा घरटहरा बनाउन नगरपालिकाको तर्फबाट भनिए पनि स्थानीयवासीले जबर्जस्ती मापदण्ड मिचेर बनाएका छन् । नगर क्षेत्रभित्र मापदण्ड मिचेर घरटहरा बनाएमा अथवा नक्सापास नगरी बनाएमा नगरपालिकाले जुनुसुकै बेला भत्काउन सक्ने र भत्काउँदा लाग्ने खर्च संरचना बनाउनेबाट नै असुलउपर गरिने जनाइएको छ ।
अटेर गर्नेलाई रु पाँच लाखसम्म जरिवाना गराउन मिल्ने कानूनी प्रावधान रहेको नगरप्रमुख रिजालले बताए ।
पुरानो संरचनाका घरहरु मात्र रहेको दिक्तेलबजारका अधिकांश स्थानीयवासीको घर भत्काउनुपर्ने प्राविधिकले बताएका छन् । रासस








