सन्तोष चौधरीको सफलताः किराना पसलदेखि उद्योग मालिकसम्म

साउन १७, विराटनगर । उद्यम गर्ने हो भने न त ठुलो ठाउँ चाहिन्छ न त धेरै सम्पत्ति । आफुसँग भएको सम्पत्तिको उचित व्यवस्थापन गरी निरन्तर मेहनत गर्ने हो भने, जो कोही पनि सफल उद्यमी बन्न सक्छन् ।
त्यसको उदाहरण विराटनगर बजारमा सानो हार्डवेयर पसलबाट व्यवसाय सुरु गरेका युवा व्यवसायी सन्तोष चौधरीले प्रस्तुत गरेका छन् । निरन्तर मिहिनेत र परिश्रम गर्ने हो भने एक दिन जसरी पनि सफल भइन्छ भनेर उनले देखाएका छन् । भनिन्छ इख विनाको मान्छे र विष विनाको सर्प काम लाग्दैन । उद्योगी तथा व्यवसायी चौधरीको जिवनमा पनि त्यस्तै घटना भयो । जुन घटनालाई इख लिएर आफै गर्छु भन्ने सोच बनाएर उनी दिनरात मेहनत गर्न तिर लागे र, आज नेपालमै प्रतिष्ठीत उद्योगी व्यवसायीको पंक्तिमा आफुलाई उभ्याउन सफल भए ।
null
युवा उद्योगी व्यवसायी चौधरीको जन्म २०३४ सालमा धनुषा जिल्लाको सखुवारी ९ मा भएको हो । पिता शिव शंकर र आमा मायादेवी कलवारनीको कोखबाट जन्मिएका चौधरीले स्थानीय टडिया स्कुलबाट कक्षा १ देखि ५ सम्मको अध्ययन पुरा गरे । त्यसपपछि गोदारको जनता जैसवाल माविमा कक्षा ६ देखि एसएलसी सम्मको अध्ययन पुरा गरे ।
सानैदेखी घर परिवार नै व्यापारिक पृष्ठभुमिको भएकाले व्यापारिक वातावरणमा हुर्किएका उनको ध्यान उच्च शिक्षा अध्ययन गर्नेतिर भन्दापनि व्यापार तिर गयो । पिताको गोलागद्दीको कारोबार र घरमा किराना पसल रहेकोले पढाइतिर भन्दापनि व्यापार तिरै ध्यान गएको उनी बताउँछन् । ‘बचपनदेखि नै मेरो ध्यान व्यापार व्यवसायमा थियो । बुवाको गल्लाबाट पैसा झिकेर अरुनै व्यापारमा लगाउँथेँ’, उनी विगतको कुरा सम्झिन्छन् ।
त्यो समयमा टिभि र भिसिआर गाउँमा भाडामा लिएर फिल्म हेर्ने चलन भएकाले गल्लाबाट झिकेको पैसा साथीलाई दिएर लगानी आफ्नो र काम साथीको भनेर उनले टिभि भिसिआरको व्यापार गरे । त्यस वापत दैनिक ७ सय रुपैयाँसम्म आम्दानी हुने भएकाले उनी र उनका साथीले मुनाफा भने आधा–आधा बाँड्ने गर्थे । ‘त्यो बेला टिभि र भिसिआरको एकदमै चल्ति थियो । लगानी गर्थें, साथीले काम गर्दथ्र्यो अनि कमाएको पैसा आधा–आधा लिन्थ्यौँ’, उनी भन्छन् ।
सानै उमेरमा चौधरीले व्यापार मात्र गरेनन् उनले स्थानीय साथी सन्तोष अधिकारीलाई मासु पसल (फ्रेस हाउस) खोल्न समेत सहयोग गरे । जुन लगानीबाट कमाएको मुनाफा पनि आधा–आधा नै गरिएको थियो ।
त्यति मात्र कहाँ हो र चौधरीले आफु गोदारमै बसे पनि २०५३/०५४ सालमा काठमाडौंमा २ वटा ट्याक्सी किनेर भाडामा लगाएका थिए ।
०५८ सालमा गाउँमै किराना पसल गरेर बसिरहेका चौधरीको विराटनगर स्थित कोशी प्रोजेक्ट कि ललिता शाहसँग मागि विवाह भयो । त्यसपछी किराना पसल छाडेर २ लाख ६३ हजार ६ सय ४० रुपैयाँ बोकेर विराटनगर आएका उनी आज करोडौँको मालिक बनेका छन् । हाल उनी देशमै नामी उद्योगी एवम् व्यवसायी भित्र पर्न सफल छन् ।
उनी अहिले ५ दर्जन व्यक्तिहरुलाई प्रत्यक्ष रोजगारी दिने उद्यमी भएका छन् । जानकी पोलिट्यांकको सञ्चालन, तेज सिमेन्टको निर्देशक, सौगात हार्डवेयर रोडशेष, ओम सौरभ ट्रेडर्स हाटखोला, रिजन ट्रेड एण्ड सप्लायर्सको सञ्चालक रहेका सन्तोषको विचारमा कुनैपनि ब्यवसाय गर्दा त्यसमा लगनशील र मेहनत साथ लाग्नुपर्छ । ‘ब्यवसायमा चुनौति धेरै छन्, ती चुनौतिलाई पारगरी अगाडी बढ्न लगनशीलता र मेहनत चाहिन्छ ।’ नेपाल उद्योग वाणिज्य महासंघ १ नंं प्रदेश समिति अन्तर्गत शहरी विकास समितिको सभापति समेत रहेका चौधरी भन्छन् ।
धनुषाबाट लिएर आएको २ लाख ६३ हजार ६ सय ४० रुपैयाँबाट उनले विराटनगरमा माइला सालासँग मिलेर साइबर क्याफे सञ्चालन गर्ने योजना अनुसार होटल मुनको अगाडी घर भाडामा लिए । क्याफे सञ्चालनका लागि तयारी गर्दै गर्दा भाडामा लिएको कोठामा कुनै कारणले काँटी आवश्यक भएपछी काँटी किन्न नजिकैको हार्डवेयर पसल पुगेका उनको साइवर क्याफे चलाउने मन एकाएक फेरीयो । काँटी किन्न गएका उनी क्याफे छाडेर हार्डवेयर पसल चलाउने सोचमा पुगे । लगत्तै रोडशेष चोकमा हार्डवेयर पसल खोले । डेढ वर्षपछी तेज सिमेन्टको डिलर लिए । मार्केटिङमा ध्यान दिए । मिहिनेत गर्नेले फल अवश्य पाउँछ भनेझैँ उनी अहिले तेज सिमेन्टको शेयर होल्डर र निर्देशक समेत बन्न सफल भएका छन् ।
हार्डवेयर पसल सञ्चालन गरिरहेका बेला सप्तकोशी नदीको बाँध भत्किएर सडक अवरुद्ध भएपनि आफ्नो ब्राण्डलाई टिकाइ राख्न आफैंले सिमेन्ट लोड गरी रामपुर ठोक्सिला हुँदै भारतीय बाटोबाट सम्बन्धीत ठाउँमा पुर्याउँथे । ‘त्यतिबेला बस चढेर रामपुरको बाटो हुँदै पारिका जिल्लाहरुमा आफै पुगेर काम गर्थेँ नत्र ब्राण्ड टिकाउ सक्ने थिइनँ । त्यही बेला नै मैँले दुई पैसा कमाउने मौका पाएँ’ विगतको संघर्ष सम्झन्छन् उनी ।
चौधरीले जानकी पोलिट्यांक उद्योग सञ्चालनमा ल्याउनुको कहानी अनौठो छ । हार्डवेयर व्यवसाय गरिरहेका चौधरीलाई एक पोलिट्यांकले डिलरशिप दिन मानेको थिएन । त्यहि कुरालाई इख मानेर बसेका सन्तोष जनकपुरधाम गएको बेला माता जानकीकै नामबाट पोलिट्यांक उद्योग सञ्चालन गर्ने अठोट लिए ।
पोलिट्यांक उत्पादन त गर्ने तर, कसरी गर्ने ? कच्चा पदार्थ कहाँबाट ल्याउने ? उनका सामु प्रश्नहरु तेर्सिए । तथापि, जे सोच्यो त्यो पुरा गर्ने स्वभावका सन्तोषले ८ वर्षअघि करिब ४ करोड लगानीमा टंकिसिनुवारीमा उद्योग सञ्चालनमा ल्याए । हाल उक्त उद्योगमा दर्जनौँले रोजगारी पाएका छन् । भने, जानकी पोलिट्यांकीले सन्तोषलाई छुट्टै परिचय समेत दिएको छ ।
उद्योग सञ्चालन गरेपछि सुरुमा बजारमा टिक्न निक्कै गाह्रो भयो । ‘पोलिट्यांकका विषयमा ज्ञान थिएन । सुरुमा बजार बनाउन गाह्रो भयो । तर हार खाइन । संघर्ष गर्दै जाँदा बजार बढ्दै गयो । बजार छैन भनेर चिन्ता छैन ।’
अहिले सन्तोषले सौगात पोलिमर्श, सौगात ल्याडिस समेत सञ्चालन गरिरहेका छन् । यस वाहेक तिनटोलियामा किड्स ह्याभेन मन्टेश्वरी पनि सञ्चालन गरेका छन् । जसको सबै जिम्मेवारी श्रीमती ललिताले लिएकी छिन् ।
सन्तोष चौधरीले अन्य उद्योग समेत सञ्चालन गर्ने योजना बनाएका छन् । उद्योग सञ्चालनकै लागि सौगात वायर नामको कम्पनी दर्ता गरेपनि बैंकहरुको उच्च ब्याजदरका कारण लगानी गर्न तम्सिएका छैनन् । ‘अहिले सञ्चालित उद्योगमै १३ प्रतिशत बढी बैंक व्याजदर हुँदा धान्न गाह्रो छ । उच्च ब्याजदरकै कारण लगानी गर्नपछि हटिरहेको छु । बैंकको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायी धारसायी बनेका छौँ । बैंकहरुले लिने उच्च ब्याजदर सरकारले नियन्त्रण गर्नुपर्छ’, उनी भन्छन् ।
सानैदेखि धर्मकर्ममा विश्वास राख्ने चौधरी समाजसेवामा पनि उत्तिकै सकृय छन् । नियमित सामाजिक कार्य गर्दै आएका उनी लायन्य क्लब अफ विराटनगर योङ हर्टको अहिले भाइस प्रेसिडेन्ट हुन् भने सन २०२० को प्रेसिडेन्ट बन्दैछन् । चौधरी जेसिसको समेत सदस्य हुन् । देश युवाले नै बदल्ने हो भन्ने सोच भएका सन्तोषले व्यक्तिगत लगानीमा विराटनगर रोडशेष चोकको गोलाम्बरलाई लाखौं खर्च गरेर पुर्ननिर्माण गराएका छन् ।
चौधरी विराटेश्वर बृद्धा आश्रमको उपाध्यक्ष समेत हुन् । उनले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको राशनका लागि विगत १३ वर्षदेखि मासिक रुपमा चामल उपलब्ध गराउँदै आएका छन् । चौधरीले विराटनगरको सरसफाई व्यवस्थापनमा ठुलो भुमिका खेलेका छन् । उनले जानकी पोलिट्यांकका सयौँ डष्टविनहरु विराटनगरका अधिकांश ठाउँमा निःशुल्क राखिदिएका छन् ।
विराटनगर स्थित नवनिर्मित वस टर्मिलनमा पनि उनले डष्टविन र पानी ट्यांकी निःशुल्क दिएका छन् । यस वाहेक विभिन्न मन्दिर तथा सार्वजनिक स्थलहरुमा डष्टविन तथा पानीट्यांकी निःशुल्क दिएका छन् । विराटनगरका सडकपेटीहरुमा फुलहरु रोपेका छन् । ‘हाम्रो समाजप्रति पनि दायीत्व हुन्छ । सकुन्जेल सामाजिक कामहरु गरिरहनेछु’ उनी भन्छन् ।
जुन विषयको काम गर्ने हो त्यसको पर्याप्त अध्ययन गरेर मात्र लगानी गर्न उनको सुझाव छ । युवाहरुले आँट गरेको खण्डमा जस्तोसुकै व्यवसायमा सफलता प्राप्त गर्ने बताउँदै बजार अध्ययन गरेर लगानी गर्नुपर्ने चौधरीको सुझाव छ । ‘जुन काम गर्ने हो, त्यसको अध्ययन गरेर मात्र हाम फाल्नुपर्छ, अन्यथा सफलता हासिल गर्न सकिन्न, आफुसँग भएको पुँजी समेत सकिन्छ ।’ उनी भन्छन् ।
उद्योगी व्यवसायीसँग सरकारले एकलौटी रुपमा कर संकलन मात्र गर्न नमिल्ने उनको भनाइ छ । उद्योगी व्यवसायीले तिरेको करबाट उद्योगी व्यवसायीका लागि सरकारले केही गर्नुपर्ने उनको बुझाई छ । ‘तिरेको कर वापत हामीले के पायौँ ? त्यसको आभाष सरकारले उद्योगी व्यवसायीलाई गराउनुपर्छ,’ उनी भन्छन् । सरकारले ल्याएको कर नीति राम्रो भएको उनको विचार छ ।
सबैलाई बैधानिक तवरबाट काम गर्न सरकारले ल्याएको कर नीति सकारात्मक भएको उनको विश्लेषण छ । सरकारले सबैथोक विचार गरेर ल्याएको कर नीति अनुसार उद्योगी व्यवसायी चल्नुपर्नेमा उनले जोड दिए । चौधरीले भने,‘यो कर नीति जनताकै लागि ल्याइएको हो । व्यवहारीक कठिनाइले होला केही त्रसित छन् । तर, डराउनुपर्ने कारण छैन ।’
संघर्ष गरेर सफलता प्राप्त गरेका चौधरी आफ्नो सफलता र कामबाट सन्तुष्ट छन् । जुनसुकै कुरामा पनि मनैदेखि लगाव हुने हो भने सफलता प्राप्त गर्न सकिने उनको भनाई छ । चौधरीले आफू यो स्थानमा पुग्न आफ्नो र परिवारका सदस्य सहित ५४ जना कामदार र कर्मचारीको ठुलो भुमिका रहेको बताए । ‘म जरो मात्र हो, मलाई कर्मचारी परिवार सबैले साथ दिएर आज यो अवस्थामा उभिएको छु ।’








