बालुवा धोएर सुन, दसैंका लागि २ खर्बको आयात, नेताकै कारण बयान लिन अख्तियारलाई सकस

भदौ १२, काठमाडौँ । आजको अन्नपूर्ण पोस्टले ‘दसैंका लागि २ खर्बको आयात’ शीर्षका समाचार छापेको छ । चाडपर्व लक्षित गरेर व्यवसायीले २ खर्ब रुपैयाँको वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोलेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार आइतबारसम्म १ खर्ब ८० अर्ब ४४ करोड ३८ लाख ८० हजार रुपैयाँको प्रतीतपत्र खोलिएको छ। यसरी खोलिएका प्रतीतपत्रको सामान भने आइसकेको छैन। 

‘भारतबाट कतिपय सामान एलसी खोलेको ७–१० दिनमै आयात भइसक्छ। त्यस्ता एलसीको तथ्यांक यहाँ समावेश छैन,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला भन्छन्। चाडपर्वका बेला उपभोग्य वस्तुको आयात बढी हुन्छ। सवारीसाधन, खसी, बोका, भेडाच्यांग्रा, फलफूल, लत्ताकपडाको आयात चुलिने गरेको छ।  

तरकारी, चिनी, लसुन, रङका कच्चापदार्थ, मसलाजन्य वस्तु, क्यामेरा, मोबाइल र अन्य दूरसञ्चार उपकरण, घडी र खेलौना आयातको ठूलो हिस्सा यही अवधिमा हुने गरेको छ। तीन वर्षयताको तथ्यांकले वर्षभरमा आउने टाँकमध्ये आधाभन्दा बढी साउनदेखि कात्तिकको बीचमा आयात भइसक्छ। तेस्रो मुलुकबाट हुने कपडा आयातको शतप्रतिशत यही अवधिमा हुने गरेको राष्ट्र बैंकको तथ्यांक छ। 

null

गत आवको सुरु चार महिनामा यस्ता वस्तुको आयातमा नेपालले करिब ४३ अर्ब रुपैयाँ खर्चिएको थियो। चाडपर्वको समयमा विद्युतीय सामग्री आयात पनि चुलिन्छ। ‘चाडपर्वमा सबैभन्दा धेरै आयात बढाउने भनेको सवारीसाधनले हो,’ दक्षिण एसियाली व्यापार र वातावरणीय मुद्दामा अनुसन्धान गरिरहेको संस्था सावतीका कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डे भन्छन्, ‘गाडी र रेफ्रिजेरेटरदेखि टेलिभिजनसम्मका सामग्री आयातले हाम्रो अर्थतन्त्र कमजोर बनाउन थालेको छ।’ उनी तरकारी, फलफूल, मासु, अन्न, तेल आदिको आयात घटाउन जरुरी भएको बताउँछन्।   

आजको अन्नपूर्ण पोस्टले नै बालुवा धोएर सुन शीर्षकमा समाचार छापेको छ । कर्णालीको किनार । भदौको टन्टलापुर घाम । केही महिना असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर डुँडीमा थुपार्दै छन् ।   

कोही डुँडीमाथि राखिएको सोनाट्टा (जाली) ले बालुवाबाट ढुँगा अलग गर्दै छन् । कोहीचाहीँ मसिनो बालुवा थालमा हालेर बेस्सरी धुँदै छन् ।   

बालुवा धोएपछि बाँसको कप्टेरो जस्तो ठग्नामा थोरै सुन भेटिन्छ । यसरी नै समूहसमूहमा रहेका सोनाहा समुदायका महिला कर्णालीको बालुवाबाट सुन संकलन गर्दै आएका छन् । यो समुदायको मुख्य बसोबास कैलाली र बर्दियाको सीवार्ती कर्णाली किनार हो ।   

त्यस्तै राजधानी दैनिकमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगको विषयमा समाचार छापिएको छ । राजधानी दैनिकका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ललिता निवास जग्गा प्रकरणमा मुछिएका राजनीतिक दलका नेतासँग बयान लिन सकस भएको छ । ललिता निवास जग्गालाई व्यक्तिका नाममा दर्ता गराउनका लागि दुईवटा सरकारले गरेको निर्णयलाई कूटनीतिक तवरमा हल गर्ने र अन्य जग्गा किनबेचमा संलग्नलाई विशेष अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको अख्तियार स्रोतले जनाएको छ । 

अख्तियारले हाल ललिता निवास जग्गा किनबेचमा संलग्नहरूलाई अनुसन्धान प्रक्रियामा राखेको छ । जग्गा किनबेच गर्नेको सूची लामो भएकाले अझै केही समय अनुसन्धान प्रक्रियामा अख्तियार रहेको प्रवक्ता प्रदीप कोइरालाले बताए । अनुसन्धान प्रक्रिया के भइरहेछ भन्ने विषयमा भने अहिले केही भन्न नमिल्ने प्रवक्ता कोइरालाले बताए । 

ललिता निवास प्रकरणमा मुछिएका नेताहरूको हकमा बयान लिने कि नलिने भन्ने विषयमा अख्तियार प्रमुख नै सकसमा परेको स्रोतले जनायो । सरकारी जग्गा व्यक्तिको नाममा बनाउनेमा मुख्य दोषी कसलाई किटान गर्ने भन्ने विषयमा अख्तियारमा छलफल भइरहेको स्रोतले जनायो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =