सशस्त्रमा पानी ट्यांकर आतंक !

 

साउन २०, काठमाडौँ । सशस्त्र प्रहरी बलमा संगठन प्रमुखलाई नै गुमराहमा राखी कतिसम्मको कार्य हुँदोरहेछ भन्ने कुरा ट्यांकर आतंकले उजागर गरेको छ । 

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले बारम्बार गरेको बन्द, तोडफोड, आगजनी लगायतका कारण सशस्त्रको ध्यान त्यसतर्फ केन्द्रित भइरहेका बेला तालुकदार मन्त्रालयदेखि राजनीतिक दबाबका कारण संगठन प्रमुखले सबै काम हेर्न नभ्याउनु स्वभाविक नै हो । त्यसमाथि हरेक नयाँ आर्थिक वर्षसँगै सशस्त्र प्रहरीमा तल्लो तहदेखि एसएसपीसम्मको सरुवाका कारण अनावश्यक दबाब संगठन प्रमुखले झेल्नुपर्ने बाध्यता पनि छ । 

null

काम गरेर राम्रो ठाउँ पाउनुभन्दा पनि नेताको दबाब र आर्थिक लेनदेनका आधारमा राम्रा र आकर्षक ठाउँमा सरुवा भई जाने परिपाटी अहिले सशस्त्र प्रहरीमा व्यापक मात्रामा हुन थालेको छ । संगठन प्रमुखलाई निरीह बनाएर बाहिरबाट दबाब दिई घुस खान र भ्रष्टाचार गर्न पाउने ठाउँहरूमा सरुवा हुन मन्त्रीदेखि नेताकहाँसमेत धाउनेहरूको अहिले सशस्त्रमा बोलबाला छ । हुँदाहुँदा संगठन प्रमुखलाई समेत सूचनाबाट बन्चित गराई ट्यांकर आतंक चलेपछि अहिले यसले हलचोकमा निकै चर्चा पाएको छ । 

ट्यांकर आतंक अर्थात् पानी बोक्ने ट्यांकर । सनत बस्नेत सशस्त्र प्रहरी बलको महानिरीक्षक हुँदा एउटा नीति नै बनाए कि एसएसपी दर्जासम्मका अधिकृतहरूका घरमा अत्यावश्यक परेका खण्डमा पानीको व्यवस्था गर्ने । सनत बस्नेतपछि आइजी बनेका शैलेन्द्र श्रेष्ठले पनि त्यसलाई निरन्तरता दिए । त्यसपछि आइजी बनेका कोषराज वन्तको पालामा एक वर्ष पनि उक्त निर्णयलाई निरन्तरता दिइयो । त्यसपछि उक्त निर्णय हटाइयो । 

त्यसपछि आफ्ना युनिटहरूमा पानीको हाहाकार भएका खण्डमा मात्रै ट्यांकरबाट पानी आपूर्ति गर्ने अन्यथा कुनै पनि अधिकृतको घरमा ट्यांकर लान नपाउने । हुँदाहुँदा सिंहबहादुर श्रेष्ठ आइजी हुँदा आफ्नै संगठनको ट्यांकरमा निजी घरमा पानी लैजाँदासमेत ठूलो समाचार बन्यो । तर, अहिले शैलेन्द्र खनाल संगठन प्रमुख भएका बेला उनलाई थाहा र पत्तोसमेत नदिई मनलाग्दी ढंगले ट्यांकरको दुरूपयोग सशस्त्र प्रहरीमा भइरहेको छ । 

आइजीको नाम बेच्ने, आइजीसँग नजिक रहेको हल्ला पिट्ने, पिटाउने र त्यसका नाममा फाइदा लिने काम अहिले सशस्त्र प्रहरीभित्र व्यापक भइरहेको छ । आइजिपी खनालको नजिक रहेका केही उच्च तहका अधिकृतहरूले आफ्नो घरमा मात्रै होइन आफ्ना नातेदारका घरमा समेत सशस्त्रको ट्यांकरको पानी पुर्याउने गर्दछन् । 

अत्यावश्यकभन्दा पनि टोल, छिमेक र वरपर पहुँच देखाउनका लागि पनि कतिपय सशस्त्रका अधिकृतहरूले दबाब दिई ट्यांकरबाट पानी ल्याउने गरेको खुलेको छ । मुख्यालयको एमटीमा कार्यरत एक असईका अनुसार हाल कार्यदलमा सरुवा भई आएका एसपी शंकर खनालले पछिल्लो समय यस्तै अनावश्यक दबाब दिएर ट्यांकरबाट पानी ओसार्ने काम गरिरहेका छन् । एक ट्यांकर पानी पुर्याएको हप्ता दिन बित्न नपाउँदै फेरि दबाब दिएर पानी लैजाने गरेको समेत ती असईले ट्यांकर चालकको हवाला दिँदै एमटीमा सार्वजनिक गरेका थिए । केही दिन अघिको सरुवामा शंकर खनाल कार्यदल बंगलामुखी गणमा सरुवा भएका छन् । 

स्टाफ कलेजसमेत नगरेका शंकर खनाल सशस्त्र प्रहरीमा डिएसपीमा कार्यरत रहँदा सबैभन्दा बढी आम्दानी हुने स्थान र बढी तस्करी हुने ठाउँमा रहेका गुल्मदेखि गणहरूमा बस्न सफल भएका अधिकृत हुन् । सिसम दोस्रो समूहको पनि ६० औँ नम्बरमा रहेका उनी डिएसपी हुँदा पनि त्यतिनै नम्बरमा थिए तर एसपी हुँदा भने उनलाई १९ भित्र पारियो जसका कारण त्यतिबेलाको सशस्त्रको एसपीको बढुवा ज्यादै विवादित भएको थियो । 

शंकर खनालजस्ता आइजीको नाम बेच्ने मुख्यालयका धेरै अधिकृतहरूले अहिले राज्य र संगठनको सम्पत्ति व्यक्तिगतजस्तो गरी ट्यांकरको दुरूपयोग गरिरहेको कुरा मुख्यालयमा चर्चाको विषय बनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 16 =