खाजा र खानामा मात्रै गाउँपालिकाको ८० लाख खर्च !

भदौ ६, ओखलढुंगा । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्ने जनप्रतिनिधि मौन छन्।
मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापत २० लाख १४ हजार ८७ रुपैयाँ खर्च गरेको छ। गाउँपालिका अध्यक्ष मोतीराज राईले टाढाका जनप्रतिनिधि र कर्मचारीले बैठक तथा ऐनकानुन र कार्यविधि निर्माण गर्दा बसोबास तथा खाना खर्च भएको हुन सक्ने बताए। उनले भने, ‘सुरुका चरणमा एकदुई महिना लगातार बैठक र कानुन निर्माण गर्ने काममा जनप्रतिनिधि र कर्मचारी खटिएका थिए। त्यसबेला खाना खाजा खाएका होलान्, यस्तो खर्चबारे मैले कर्मचारीसँग सोध्दा पनि यही बताए।’
नागरिक समाजका अगुवाले फजुल खर्च नियन्त्रण गर्न माग गरेका छन्। जनप्रतिनिधिकै नेतृत्वमा भएको अनियमित खर्च र बेरुजुले नागरिकको स्थानीय सरकारप्रतिको विश्वास गुम्ने भएकाले खबरदारी गर्न प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय सरकारलाई ध्यानाकर्षणपत्र बुझाइएको गैरसरकारी संस्था महासंघ नेपालका उपाध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए।
null
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले स्थानीय सरकार जिम्मेवार र जबाफदेही हुनुपर्ने बताए। उनले भने, ‘जनप्रतिनिधि आएपछि धेरै राम्रा काम र गुणस्तरीय सेवा पाइन्छ भन्ने आमनागरिकको विश्वास गुमाउन हुँदैन।’
स्थानीय तहको खाना खर्च
मानेभञ्ज्याङः २० लाख १४ हजार
खिजीदेम्बाः १९ लाख १९ हजार
सिद्धिचरणः १८ लाख ६९ हजार
चम्पादेवीः ११ लाख ३४ हजार
सुनकोसीः ६ लाख ८१ हजार
चिसंखुगढीः ३ लाख ६७ हजार
जम्माः ७९ लाख ८५ हजार
यो समाचार अन्नपूर्ण पोष्टमा भातमै भ्रष्टाचार शीर्षकमा छापिएको छ ।








