चितवनमा निषेधाज्ञा, ५ जनाभन्दा बढी जम्मा भएर बस्न नपाइने

भदौ  ९, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रहरुमा पाँच जनाभन्दा बढी मानिसहरु जम्मा भएर बस्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले पुडासैनी आत्महत्या प्रकरणका कारण उत्पन्न पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय आसपासमा निषेधाज्ञा जारी गरेको हो । 

कार्यालयले आइतबार राति एक आदेश जारी गर्दै सोमबार (आज) बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पाँच जनाभन्दा बढी मानिसहरु जम्मा भएर बस्न नपाइने आदेश जारी गरेको हो ।   

आदेशमा भनिएको छ, ‘मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकाय रहेको क्षेत्रमा हुल दङ्गा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम भदौ ९ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो आदेश जारी गरिएको छ ।’  

null

जारी आदेश अनुसार वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भए बस्न पाइने छैन ।   

त्यस्तै वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक–कृषि ज्ञान केन्द्र हुँदै लोकमार्गतर्फको चौबीसकोठी चोकसम्म, वाइपास सडकतर्फको घरेलु कार्यालय चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पतालचोकसम्मको क्षेत्रमा मानिसहरु जम्मा हुन निशेध गरिएको छ ।   

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकणपछि अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुको जारी प्रदर्शनका कारण सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै यस्तो आदेश जारी गरिएको जिल्ल प्रशासन कार्यालयले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *