मातृत्वसँग खेलबाडः लाखौँमा बेचिन्छ, कानुनी झन्झट आएपछि फिर्ता गरिन्छ

भदौ ११, काठमाडौँ । सहाराविहीन बालबालिका संरक्षणको जिम्मा पाएको बालमन्दिरकै उच्चपदस्थ अधिकारीले निःसन्तान दम्पतीलाई साढे पाँच लाख रुपैयाँमा अर्कैको शिशु बेचिदिए । कानुनी उल्झनमा फस्ने अवस्था आएपछि दम्पतीको भावनामा खेलाँची गर्दै जबर्जस्ती फिर्ता लिए ।   

विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भाके । यो दौडधुप र छटपटीले नुवाकोटका एक दम्पती गलिसकेका थिए । अचानक एक दिन उनीहरूले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरू आउँछन् र तिनलाई प्रक्रिया पुर्‍याएर लैजान पाइन्छ । 

गत वर्ष माघमा उनीहरू केन्द्रमा पुगे र आफूहरूलाई धर्मसन्तान चाहिएको बताए । केन्द्रले उनीहरूलाई नक्सालस्थित बालमन्दिर पठाइदियो । बालमन्दिरका निर्देशक बालकृष्ण डंगोलले पहिलो भेटमै शिशु मिलाइदिने बताएपछि ती दम्पती खुसीले भावविभोर भए । 

null

उनीहरूले विवाह दर्ता प्रमाणपत्र, नागरिकताको फोटोकपीका अलावा गाउँपालिकाबाट सन्तान नभएको सिफारिस, अस्पतालबाट सन्तान हुन नसक्ने रिपोर्ट बालमन्दिरमा बुझाए । गत वर्ष माघ ४ गते बालमन्दिरमा कागजपत्र बुझाउँदा निर्देशक डंगोलले केही महिनापछि शिशु मिलाइदिने बचन दिएका थिए । 

डंगोलले भनेअनुसार माघ २९ गते उनीहरूले डेढ लाख रुपैयाँ बुझाए । बालमन्दिरले रकम बुझेको रसिद पनि थमायो । 

धर्मसन्तान स्विकारेको कुरा थाहा पाउँदा समाजमा अप्ठ्यारो पर्ने भएकाले उनीहरूले काठमाडौंमा डेरा खोजेर केही महिना बस्ने र आफैंले सन्तान जन्माएको भनेर गाउँ फर्किने योजना बनाए र माघमै काठमाडौं आए । मासिक ३५ सय तिर्ने गरी एउटा कोठा भाडामा लिए र नयाँ दिनचर्या सुरु गरे । 

६ महिनापछि एक दिन डंगोलले फोन गरेर शिशु भेटिएको खबर सुनाए । असार २५ गते ललितपुरको बुङमतीस्थित विनायक कोलनी नजिकै सालनालसहितको एकदिने शिशु भेटिएपछि प्रहरीले उद्धार गरी उपचारका निम्ति पाटन अस्पताल पुर्‍याएको थियो । डंगोलले यही शिशुको कुरा गर्दै दम्पतीलाई भनेका थिए, ‘सालनालसहितको बिरामी शिशु भेटिएको छ । उपचार खर्च बेहोर्ने हो भने मिलाइदिन्छु ।’ सन्तानका निम्ति काठमाडौंमा डेरा गरी अधैर्यपूर्वक बसिरहेका दम्पतीले डंगोलको कुरा स्विकारिहाले । तर डंगोलले एउटा सर्त राखे, ‘शिशुको उपचारमा अस्पतालमा आफैं खटिनुपर्छ ।’ स्वस्थ शिशुभन्दा कम तौलको र बिमारी रहे पनि उपचार गरेर निकोपार्न सकिन्छ भन्ने आसमा उनीहरूले बच्चा स्विकार्ने निर्णय गरे । 

ती महिलाले बच्चाको उपचारका निम्ति आफूहरू झन्डै ३० दिन अस्पतालमै बसेको बताइन् । उनले भनिन्, ‘हामी दिनभर अस्पतालबाहिर बस्थ्यौं । उपचारका क्रममा केही सहयोग चाहियो भने दौडेर अस्पताल छिर्थ्यौं ।’ एक दिन डंगोलले बच्चाको उपचारमा तुरुन्तै चार लाख चाहिएको बताए । 

सन्तानको आसमा बसेकी ती महिलाले आफ्नो गरगहना बेचिन् र केही पैसा सापट खोजिन् । बल्लतल्ल असार २७ गते तीन लाख जम्मा भएपछि उनका श्रीमान्ले पाटन अस्पताल बाहिरको एउटा रेस्टुरेन्टमा डंगोललाई रकम थमाए । उनले बाँकी पैसा भने केही दिनमा खोजेर दिने वाचा गरे । ‘सन्तानका लागि हामी सडकमा आउन तयार मान्छे । त्यति पैसा त जसरी पनि खोजौंला । ऋण लागे जसरी पनि तिरौंला भनेर डंगोलले भनेअनुसार गर्‍यौं,’ ती महिलाले कान्तिपुरसित भनिन् । 

अस्पतालले शिशुको स्वास्थ्यमा सुधार भएको भन्दै साउन २३ गते डिस्चार्ज गर्‍यो । त्यसपछि डंगोलले दम्पतीलाई भने, ‘बच्चालाई बाहिरबाटै घर लाने कि अफिसबाट रु’ बाहिरबाटै बच्चा लैजाँदा कानुनी झमेलामा परिने डरले उनीहरूले संस्थागत प्रक्रिया पुर्‍याएर बच्चा लैजाने बताए । उनले भनिन्, ‘हामीले ६ महिना पहिल्यै कागज बुझाइसकेका थियौं । त्यही भएर पनि संस्थागत प्रक्रिया पूरा गर्ने बाटो रोज्यौं ।’ 

डिस्चार्ज गरेर शिशु लैजाने बेला डंगोलले नै महानगरीय प्रहरी परिसर ललितपुर र पाटन अस्पतालको सिफारिस पत्र पनि तयार पारेर राखेका थिए । अस्पताल र परिसरले आवश्यक संरक्षणका लागि सिफारिस भन्ने बेहोराको पत्र साउन २३ मा बालमन्दिरका लागि बनाइदिएको थियो । 

डंगोलले उनीहरूलाई बच्चासहित बालमन्दिर पुर्‍याए । उनीहरूले बालमन्दिरको गृह व्यवस्थापन शाखामा बच्चा आफूले लैजान लागेको बताए । तर शाखा प्रमुख सविता लम्सालले त्यत्तिकै बच्चा लैजान नमिल्ने बताइन् । लम्सालका अनुसार त्यसपछि उनीहरूले निर्देशक डंगोलसँग कुराकानी भइसकेको जानकारी गराए । लम्सालले निर्देशकलाई सोधिन् । 

‘निर्देशकले शिशु स्याहारका लागि उपलब्ध गराउने भन्ने तोकसहितको पत्र थमाइदिएपछि मैले बच्चा दिएँ,’ लम्सालले कान्तिपुरसित भनिन् । महिनौंको काठमाडौं बसाइ, लाखौं रुपैयाँ खर्च र अनेकन हैरानीपछि शिशु आफ्नो हातमा पाएको दिन ती महिला औधी खुसी भएकी थिइन् । उनले भनिन्, ‘त्यति धेरै खुसी त म जीवनमा कहिल्यै भएको थिइनँ ।’ उनीहरूले डेराका सबै सामान सारे र गाडी रिजर्भ गरेर गाउँ पुगे । वर्षौंदेखिका निःसन्तान दम्पतीले सन्तान जन्माएछन् भन्ने खबर एकैछिनमा गाउँमा फैलिहाल्यो । बच्चाको हाँसो, रोदन, चकचकले घर गुल्जार भयो । सन्तान हुर्काउँदाको खुसीले उनीहरू पुलकित थिए । 

बच्चा घर पुर्‍याएको दोस्रो दिन बालमन्दिरका निर्देशक डंगोल मोटरसाइकलमा एक जना विदेशीलाई राखेर घर आइपुगे । डंगोलले बच्चाको उपचारमा लागेको एक लाख रुपैयाँ पाटन अस्पताललाई तिर्न बाँकी रहेको बताए । बच्चा पाएकामा फुरुङ्ग उनीहरूले डंगोलको कुरा काट्न सकेनन् । अनेकतिर भनसुनपछि एक जना साथीले एक लाखको चेक काटिदिइन् । त्यही चेक हात परेपछि डंगोल काठमाडौं फर्के । 

बच्चाको स्याहार र बाल हाँसोमा भुल्दै दिनहरू बितिरहेका थिए । तर दिनहरू सधैं उस्तै रहँदैनन् भनेजस्तै भयो । बालमन्दिरबाट साउन ३० गते फोन आयो । फोनमा गृह व्यवस्थापन शाखा प्रमुख लम्सालले ‘आजै बच्चा फिर्ता लिएर बालमन्दिर आइहाल्नू’ भनिन् । यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *