प्रधानमन्त्रीलाइ प्लाज्माफेरेसिस, नेकपामा ब्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध, प्रदेश ५ मा चिनकाे चासाे

भाद्र १०, काठमाडाैं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरूले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य अवस्था देखि समसामयिक विषय प्राथमिकतामा परेका छन् । कान्तिपुर दैनिकका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ ।
बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर प्लाज्माफेरेसिस थालिएको छ । हालसम्म उनको शुक्रबार र आइतबार गरी दुई पटक प्लाज्माफेरेसिस भइसकेको छ । मंगलबार फेरि गरिदैँ छ । यस अघि साउन १८ देखि २७ गतेसम्म सोही अस्पतालमा प्रधानमन्त्रीको परीक्षणसँगै विभिन्न औषधिसमेत चलाएको थियो । कान्तिपुर दैनिकमा अतुल मिश्र लेख्छन् ।
यसैगरी कान्तिपुर दैनिकमै विभिन्न उद्योग प्रतिष्ठान, कम्पनी र संस्थाका नाममा हदभन्दा बढी जग्गा ओगट्नेलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कानुन संशोधन गर्न लागिएको समाचार समेत छ । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधिन भूमिसम्बन्धी (आठौं संशोधन) विधेयकमा एक पटकका लागि हदभन्दा बढी जग्गा राख्न पाउने र त्यस्तो जग्गा बिक्रीवितरण गर्न दिने प्रावधान छ । राष्ट्रिय सभाले विधेयक हुबहु पारित गरेमा घुमाउरो बाटोबाट जग्गा ओगट्दै आएका व्यवसायी तथा जमिनदार प्रत्यक्ष लाभान्वित हुनेछन् । लाभान्विन हुनेको संख्या पहाड र हिमालमा भन्दा तराईमा बढी छ । यो समाचार कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।

यस्तै गरी नेपाल समाचारपत्रका अनुसार गतसाता अचानक अस्वस्थ भएका भारतस्थित पतञ्जली गोगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवको मुख्य सहयोगी छन् । पथल्जली योगपीठ नेपालमा पनि सक्रिय छ । आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन् ।
कृष्ण जन्माष्टीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा उनी अचानक विरामी परेका थिए । अहिले उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । नेपाल समाचारपत्रमा ईश्वरराज ढकाल लेख्छन्।
यसैगरी नेपाल समाचार पत्रका अनुसार पार्टी शीर्ष तहका नेताहरु भनाभनमा उत्रिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टीका जिम्मेवार नेताहरु नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगबाट उठाउनुपर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्ष्यमा बसेको बैठकले सबै तहका नेता, कार्यकता तथा सदस्यलाई पार्टीको नीति एवं नेतृत्वको सम्बन्धमा असहमति वा आलोचना वा विरोध भएमा पार्टीको विधानमा उल्लेख भएअनुसार प्रस्तुत हुन निर्देशन दिएको छ ।
यता अन्नपुर्ण पाेस्टले जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको विषयलाइ समेटेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ मा सबै स्थानीय तहलाई पत्र लेख्यो । जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको बेथिति बढेपछि उसले यो कदम चालेको थियो ।
पत्रमा भनिएको थियो, ‘ज्यालादारी वा स्वीकृत दरबन्दीभन्दा बाहिर अन्य रुपमा कर्मचारी राखी तलबभत्ता वा पारिश्रमिक भुक्तानी गर्न मिल्दैन । यस्तो कार्य प्रचलित कानुनविपरित बेरुजु ठहरिनेछ ।
बेरुजु भएको रकम भुक्तानी गर्ने पदाधिकारीबाट असुलउपल हुनेछ ।’ यसको लागि अघिल्लो दिन मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन् ।
नागरिक दैनिकमा विनाेद परियार लेख्छन्ः प्रदेश ५ मा चीन सरकारको चासो बढ्दै गएको छ । यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो । महामानव गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र भएकाले पनि चिनियाँ चासो यो प्रदेशमा बढि देखिएको जानकारहरु बताउँछन् ।
प्रदेश सरकार, स्थानीय सरकारले चीनका विभिन्न प्रान्तीय सरकार तथा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने क्रम तीव्र बनेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गत असार १६ गतेदेखि २५ गतेसम्म चीनका विभिन्न प्रान्तको भ्रमण गरे । सोही सिलसिलामा प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको छ ।








