१३ वर्षीया बालिकाको काखमा डेढ वर्षे छोरो, पेटभित्र सातमहिने गर्भ !
काठमाडौं, १७ साउन । चन्दनिया देवी सदा १६ वर्षकी भइन् । उनको विवाह तीन वर्षअघि भएको थियो । अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा । शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ । गर्भको बच्चा सात महिना पुगिसकेको छ । चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन । यसबारे सोध्दा उनी लजाउँछिन् मात्र । महोत्तरी मनरा सिसवा नगरपालिका–१० मधवा टोलका मुसहरी बस्तीमा अधिकांश छोरीको बिहे १० देखि १२ वर्षकै उमेरमा हुन्छ । बिहे भएको एक दुई वर्षमै आमा बनेपछि उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन् । सन्तान पनि कुपोषित छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा मनिका झाले जनकपुरबाट लेखेकी छन् ।
सोमित्रादेवी सदाले दुई वर्षअघि बुहारी भित्र्याइन् । छोरा रामबाबु सदाको उमेर १६ वर्षको थियो । बुहारी इन्दिरा १२ वर्षकी थिइन् । इन्दिराले छोरी जन्माइसकेकी छन् । सुमित्राले खुसी हुँदै भनिन्, ‘आब एगो पोताके रस्ता देखैछियै (अब एउटा नातिको बाटो कुर्दै छु) ।’मुसहर टोलमा अधिकांशको बिहे उमेर नपुग्दै हुन्छ । ‘छौरा छौरी जुवान भगेल त वियाह कदेली उमेरसे कथि होईहै (केटाकेटी जवान भएपछि बिहे गरिदिने हो । उमेरले के हुन्छ ? ’ टोलकी वृद्धा सन्तोलियादेवी सदाले भनिन्, ‘हाम्रो बेलामा त झन् बच्चैमा बिहे हुन्थ्यो ।’सानैमा बिहे गर्ने परिपाटी र परिवार नियोजनको साधनमा पहुँच नहुँदा अधिकांश महिला धेरै बच्चा पाउन बाध्य छन् । यस्ता बच्चामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । गर्भवती भएपछि स्वास्थ्य संस्थामा नियमित जाँच गराउने चलन पनि छैन । त्यतिबेला पोषणयुक्त खानेकुरा खान नपाएका अधिकांश महिलालाई रोगले च्यापेको छ ।उनीहरूलाई सुत्केरी हुन स्वास्थ्य चौकी जानुपर्छ भन्ने चेतना छैन । मुसहर समुदाय छोराछोरीलाई पढाउनुको साटो मजदुरीमा लगाउन रुचाउँछन् । यसले गर्दा शैक्षिक अवस्था पनि दयनीय रहेको छ । प्रदेश २ सरकारले चलाएको बेटी पढाऊ, बेटी बचाऊ अभियान मुसहर टोलवासी अनभिज्ञ छन् ।छोरी जन्मिँदा प्रदेश सरकारले १ लाख रुपैयाँको निःशुल्क बिमा गरिदिने प्रावधानबारे पनि उनीहरू जानकार छैनन् । ‘टोलबाट चुनाव जितेका नेताहरूले यस्ता विषयमा कहिल्यै जानकारी गराउँदैनन्’, टोलका श्रीचन माझीले भने, ‘हामीलाई प्रदेश सरकारले कहाँ के गर्दैछ केही थाहा छैन ।’