नोबेलबाट निःशुल्क उपचार पाएका राई भन्छन्- ‘सुनिल सर नभएको भए तीन बर्षअघि नै मरिसक्थेँ’ (भिडियाेसहित)

भदौ १३ विराटनगर । मोरङको लेटाङ–१ स्थित थामडाँडाका कोशीकुमार राईको सम्पूर्ण सम्पत्ती करिव २ लाख बराबरको छ ।   

चार बर्षअघि रुखबाट लड्दा भाँच्चिएको खुट्टामा भएको संक्रमण निको पार्ने क्रममा अहिलेसम्म १३ लाख बराबरको उपचार भइसक्यो । आफ्नो भएको सबै सम्पत्ती सकेर उपचार गर्दा पनि उनको उपचार खर्च पुग्ने कुनै सम्भावना नै थिएन ।   

नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले सम्पूर्ण उपचार खर्च नबेहोरिदिएको भए उपचार गर्न नसकी कुहिएर मरिसक्ने अनुमान गर्ने उनी अहिले भाँच्चिएको खुट्टाले टेकेर हिँड्न सक्ने भएका छन् ।     

तीन बर्ष अघिदेखि नोबेलमा खुट्टाको नियमित उपचार गराईरहेका ३७ बर्षीय राईको उपचारमा अहिलेसम्म १२ लाख ८५ हजार खर्च भईसकेको छ । उपचारमा लागेको सम्पूर्ण खर्च डा.शर्माले बेहोरिदिएपछि उनले तीन बर्षदेखि निःशुल्क उपचार गराइरहेका छन् । ‘सुनिल सरले निःशुल्क उपचार गरिदिनाले अहिलेसम्म ज्यूँदो छु’, उनी भन्छन् ‘उहाँले सबै खर्च नबेहोरिदिनु भएको भए खुट्टा कुहिएर तीन बर्ष अघि नै मरिसक्ने थिएँ ।’ 

चार बर्षअघि डाले घाँस काट्न रुखमा चढेका बेला हाँगो भाँच्चिएर लड्दा उनको दाहिने खुट्टाको हड्डी भाँच्चियो । मोरङ, सुनसरी र झापाका तीन वटा अस्पतालमा ६ पटकसम्म अप्रेशन गर्दा उनले लाखौँ रकम खर्चिनु पर्यो । तर, भाँच्चिएको खुट्टामा राखिएको स्टिलमा खिया लागेर संक्रमण बढ्दै गएकाले निको हुनुको सट्टा उल्टै समस्या बढ्दै गयो । भएको सम्पत्ति उपचारकै क्रममा सकिएपछि अन्तिममा नोबेल अस्पताल आईपुगेका राईलाई डा.शर्माले सम्पूर्ण खर्च बेहोरेर निःशुल्क औषधि, उपचारको व्यवस्था मिलाइदिएका हुन् ।   

नोबेलमा निःशुल्क उपचार पाएर खुट्टा ठिक हुन थालेपछि उनी अहिले हर्षित छन् । ‘उपचारका लागि धेरैतिर धाउँदा पैसा मात्रै सकियो, निको भएन । अहिले नोबेलमा निःशुल्क उपचार पाएर खुट्टा ठिक हुन थालेपछि ढुंगा खोज्दा देउता मिलेजस्तो भएको छ’, उनले भने । 

खुट्टा भाँच्चिएको ठाउँमा हड्डी पाक्ने रोग बढ्दै गएकाले निको हुँन धेरै समय लागेको नोबेल अस्पतालका डा.सन्तोष थापाले बताए । ‘भाँच्चिएको ठाउँको मरेको हड्डी निकालेर ईलिजारोभ प्रविधिबाट उपचार भइरहेको छ’ डा.थापाले भने, ‘नयाँ हड्डी पलाउँदै गएकाले खाली रहेको भागमा हड्डी पुरा भएपछि अब केहि महिना भित्रै खुट्टा ठिक हुन्छ ।’     

खुट्टा निको हुँदै गएकाले अहिले उनी बैसाकीको सहायतामा हिँड्ने गरेका छन् । राईजस्ता गरिब, बिपन्न तथा असहाय धेरै बिरामीलाई डा.शर्माले निःशुल्क उपचार गराईसकेका छन् ।  

हेर्नुहाेस् भिडियाेः 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *