नयाँ जातको गाई विकास गर्न बाटो खुल्याे

 

साउन १७, चितवन । हिमालको लुलु गाईले यहाँको गर्मी सहन सक्ने भएसँगै वैज्ञानिकलाई नयाँ जातको गाई विकास गर्न बाटो खुलेको छ । 

रामपुरको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको गोठमा ल्याएका आठ गाईमध्ये तीन वटा गाई ब्याइसकेका छन् । ती गाईले यहाँको तापक्रममा पनि हिमालकै जति दूध दिन सकेका छन् भने त्यहाँको भन्दा बढी मोटाएका छन् । 

null

अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत वुद्धिराम आचार्यका अनुसार मुस्ताङबाट काठमाडौैँमा दुई वर्ष राखेर ती गाई चितवन ल्याइएको थियो । 

वि.सं. २०७४ को फागुन ८ गते ती गाई र बहर यहाँ ल्याइएका हुन् । आठ वटा गाई र दुई वटा बहर यहाँ ल्याइएको हो । गाईमध्ये तीनवटा ब्याइसकेको, दुई वटा गर्भिणी भएको र अन्य तीन वटा बढी मोटाएका कारण गर्भावस्था कठिन भएको आचार्यले बताए । 

हाल ब्याएका गाईले बढीमा दैनिक तीन दशमलव पाँच लिटर दूध दिएका छन् । ती गाईको औषत तौल १५० किलो मात्र रहेको छ । ती गाईले दुई बाच्छी र एक बाच्छो पाएका छन् । जन्मँदा बाच्छाबाच्छीको औषध तौल आठ दशमलव ६३ किलो रहेको थियो । 

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यले यी गाई यहाँको वातावरणमा सहज बस्न सक्ने भएसँगै अनुसन्धानमा सहजता आएको बताए । उनका अनुसार लुलु गाई, तराईको स्थानीय जातको सेतो गाई र उन्नत जातको होल स्टेनलाई क्रश गरेर नयाँ जातको उन्नत गाईको विकास गर्न लागिएको छ । 

यसवाट विकास हुने गाई जुनसुकै तापक्रममा पनि रमाउन सक्ने र दुई स्थानीय जातका गाईको भन्दा धेरै दूध दिन सक्ने उनले बताए । 

लुलुको दूधमा फ्याट पाँच दशमलव ८७ प्रतिशत, एसएनएफ नौ दशमलव ३१ प्रतिशत र ल्याक्टोज पाँच दशमलव एक प्रतिशत भएकाले दूधको गुणस्तरमा पनि वृद्धि हुने जनाइएको छ । 

यसरी विकास गरिएका गाईमा तीनवटै गाईको गुण रहने भएकाले बलियो हुने, झट्ट रोग नलाग्नेजस्तो सुकै हावापानीमा टिक्न सक्ने, कम आहाराले पुग्ने आचार्यको भनाइ छ । 

यहाँ ल्याइएका लुलु गाई समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा रहेको मुस्ताङबाट ल्याइएका हुन् । जबकी यहाँको उचाइ १५० मिटर रहेको छ । 

दैनिक ४० लिटरसम्म दूध दिने होलस्टेन र तीन लिटर हाराहारी दूध दिने ती स्थानीय जात मिसाएसँगै दूध बढी दिने आचार्यले बताए । 

अनुसन्धान शुरु भएको भए पनि यो प्रविधि लामो भएकाले झण्डै १० वर्षसम्म कुर्नुपर्ने आचार्यको भनाइ छ । लुलु गाई तराईमा सफल भएसँगै यसको वंश विस्तार र संरक्षणमा पनि सहयोग पुग्ने देखिएको छ । 

आचार्यले भविष्यमा लुलुको वीर्य नेपालमा मात्र नभएर विदेशमा पनि बेच्न सकिने बताए । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *