निर्मला प्रकरणमा गृहमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर निहुरियोः कांग्रेस सांसद कँडेल

 

साउन २८, काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्व गृह राज्यमन्त्री देवेन्द्र राज कँडेलले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या सिंहदरबारका जनप्रतिनिधिको आडमा गरिएको आरोप लगाएका छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद कँडेलले निर्मला हत्या प्रकरण पञ्चायतको समयमा पोखरामा भएको नमिता–सुनिता हत्या काण्डजस्तै भएको टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन् । 

null

२०३८ सालमा पोखरामा नमिता–सुनिता हत्या काण्ड भएको थियो, दरवार र श्रीपेचको आडमा त्यो घटना लुकाइयो’ कँडेलले भने, ‘विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिको आडमा कञ्चनपुर घटना भएको महसूस गरेको छु ।’ 

उनले निर्मला हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापाले दिएको सार्वजनिक अभिव्यक्ति समेत आपत्तिपूर्ण रहेको बताए । ‘निर्मला हत्या जस्ता घटना विगतमा पनि भएका थिए, आज पनि छन्, भविष्यमा पनि हुन सक्छन् भन्ने ? यदि गृहमन्त्रीको यही ठहर हो भने निर्मला जस्तै घटना तपाईंको परिवारमा भएको भए तपाईंको अभिव्यक्ति यही हुन्थ्यो ? गृहमन्त्रीले यो अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने मेरो माग छ,’ कँडेलले भने । 

उनले गृहमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर निहुरिएको बताए । 

कंडेलको अभिव्यक्तिप्रति नेकपाकी सचेतक शान्ता चौधरीले नियमापत्ति गर्न खोजिन् । नियमापत्ति शब्द उच्चारण नगरी उनले भनिन्– ‘सिंहदरबारबाट घटाइएको भन्ने कुरा उहाँजत्तिको मान्छेले भन्न मिल्छ सभामुख महोदय ? यो शब्द रेकर्डबाट हटाउनु पर्छ ।’ 

कांग्रेस सांसदको भनाइमा सत्तारुढ दलकी सांसदले जवाफ फर्काएपछि कांग्रेसका मीनबहादुर विश्वकर्माले नियमापत्तिमाथि नियमापत्ति गरे । ‘संसदमा एक माननीय बोलेको बेला अर्को माननीयले जवाफ दिएर जुहारी गराउन मिल्छ ?’ विश्वकर्माले सभामुखसँग प्रश्न गरे । 

जवाफमा सभामुख कृष्णबहादुर महराले भने, ‘नियमापत्ति नै हो माननीय ज्यू !’ महराले थपे, ‘माननीयजीले बोलेको विषयमा मेरो ध्यानाकर्षण भएको छ । यसलाई के गर्ने मैँले निर्णय गर्छु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *