‘गणतन्त्र जोगाउन’ सर्वदलीय ऐक्यबद्धता’

भदौ ४, काठमाडौँ । के संविधान र गणतन्त्रविरुद्ध नेपथ्यमा ‘षड्यन्त्र’ सुरु भएकै हो त ? प्रधानमन्त्रीको आह्वानमा मंगलबार अचानक बोलाइएको सर्वदलीय बैठकको मूल एजेन्डै त्यही रह्यो । र, संविधान बनाउने शक्तिहरू एकगठ भएर ऐक्यबद्धता जनाए, ‘संविधान, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका पक्षमा हामी सधैं, सबै, सँगै छौं। 

बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ विषय उठान गरेका थिए । १. प्रणालीकै विरुद्ध आवाज उठ्न थालेका छन्, यो दुस्साहस कहाँबाट कसरी आयो ? २. बढ्दो हिंसाविरुद्ध शान्तिका पक्षमा सरकार एक्लै लड्ने कि विपक्षीले पनि साथ दिनुपर्ने हो ?  ३. लोकतन्त्रका आधारभूत सबाल र संविधानलाई बलियो बनाउने विषयमा हामी सबै एक ठाउँ किन नहुने ? 

संसद्मा सम्बोधनका क्रममा आइतबार प्रधानमन्त्रीले ‘चिहानमा गई हड्डी फुकेर अब पुरानो व्यवस्था फर्काउँछु नभने हुन्छ’ भन्ने कडा चेतावनी दिएका थिए । त्यसले पुरानो दरबारिया शक्तिको सलबलाहटको संकेत गरेको थियो । दुई दिनमै उनले सर्वदलीय बैठक बोलाएर त्यही परिस्थिति औंल्याए । सहभागी सबै दलका नेताले पनि त्यसलाई गम्भीरतापूर्वक लिएका छन्। 

‘संविधान बनेको चार वर्षमै राजावादी सल्बलाउनुको कारण के हो ? प्रधानमन्त्रीज्यू, तपाईंले खोज्नुहोस्’, कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा भने, ‘संविधान हामीले पनि उत्तिकै लडेर ल्याएको हो । यसलाई जोगाउन, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई बचाउन हामी एक ठाउँ छौं। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार देउवाले सरकारका क्रियाकलापको आलोचना गर्दै राष्ट्रिय मुद्दामा भने सधैं साथ दिने प्रतिबद्धता जनाए । ‘तपाईंले विधयेकहरू ल्याउने क्रममा विपक्षीलाई हेप्नुभयो । अधिकार आफूमा केन्द्रित गर्नुभयो’, देउवाले भने, ‘त्यसमा भने व्यवहार सच्याउनुपर्छ। 

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले जुनसुकै समस्यालाई पनि गणतन्त्रविरुद्ध जोड्न थालिएकामा चिन्ता व्यक्त गरेका थिए । बाँकी नेताहरूको अनुभूति पनि त्यस्तै देखियो । र, गणतन्त्रविरुद्ध षड्यन्त्र कुनै हालतमा सफल नहुने सबैको धारणा रह्यो । यो समाचार आजको अन्नपुर्णष्टमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =