विश्वकप छनोटः पहिलो खेलमै नेपाल पराजित


साउन ७, काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोटकाे पहिलो खेलमै नेपाल पराजित भएको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मंगलबार भएको कतारविरुद्धको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।
null
नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । उनले ३२ बलमा ६ चौका प्रहार गरेका थिए । यस्तै कम्रान खानले २२, नोमन सरदारले १५ र जाहिर इब्राहिमले १२ रन जोडे ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।
नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको कीर्तिमानी साझेदारी गरे । कप्तान पारस २८ रन जोड्दा ज्ञानेन्द्र २३ रनमा पेभेलियन फर्किए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले नेपालका लागि सर्वाधिक ३४ रन जोडे भने सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९ र शरद भेषवाकरले ७ रन जोडे ।
कतारका इकबाल हुसेनले ३ विकेट लिए भने तमोर साजाद र नुमान सर्वारले २–२ विकेट लिए ।
अब नेपालले दोस्रो खेलमा मलेसियासँग बुधबार खेल्नेछ । त्यस्तै कुवेतसँग शनिबार र नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् ।
