बाढी पहिरोमा परेका ३८ जना अझै बेपत्ता

काठमाडौं, १३ साउन । मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढी पहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । बाढीपहिरो र डुबानमा आइतबारसम्म ११७ जनाले ज्यान गुमाएका छन् । दुई दिनयता ४ जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । यस अवधिमा ४१४  विपद्का घटना भएका छन् । विपद्‌मा ८० जना घाइते भएका थिए । 

अधिकांश घाइते उपचारपछि घर फर्किएका छन् । केन्द्रले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार बाढीको १३४, पहिरोको २२७ र भारी वर्षाको कारण ५३ घट्ना भएका छन् । बाढीबाट ६१, पहिरोबाट ४७ र भारी वर्षाका कारण नौ जनाले ज्यान गुमाएका छन् । बाढीबाट २९ र पहिरोबाट नौ जना हराइरहेको खनालले बताए । अहिलेसम्म रु एक अर्ब सात करोडभन्दा बढीको क्षति भएको छ । बाढी र डुबानबाट सबैभन्दा बढी रौतहटमा १० जनाको मृत्यु भएको छ ।पहिरोबाट सबैभन्दा बढी गुल्मीमा १४ जनाको ज्यान गएको छ । डोल्पामा सात जना हराइरहेका छन् । गत असारको २६ देखि ३० गतेसम्म तथा साउनको ७ र ८ गते बाढी, पहिरो र डुबानका घट्ना भएका थिए । विपद्बाट ९० हजारभन्दा बढी परिवार प्रभावित भएका थिए भने २२ हजार ६७० परिवार विस्थापित भएको केन्द्रले जनाएको छ । खनालका अनुसार विभिन्न ठाउँमा राहत वितरणसँगै सडक र तटबन्ध भत्किएको क्षेत्रमा पुनःनिर्माणको काम जारी छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *