कोपा अमेरिकामा ब्राजिल र पेरुबीच भिडन्त

एजेन्सी । कोपा अमेरिका कप फुटबल प्रतियोगिताको उपाधिका लागि ब्राजिल र पेरुबीच भिडन्त हुने भएको छ । पेरु बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी चिलीलाई ३–० गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघि लगातार दुईवटा संस्करणको उपाधि चिलीले जितेको थियो । दुवैपटक फाइनलमा चिलीले अर्जेन्टिनालाई हराएको थियो । पेरु भने तेस्रो पटक प्रतियोगिताको फाइनलमा पुगेको थियो । 

 

पेरु यसअघि सन् १९३९ र सन् १९७५ मा कोपा अमेरिका कपको फाइनलमा पुगेको थियो । ती दुवै अवसरमा पेरुले उपाधि जितेको थियो । यसपटक पनि समूहगत चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको पेरु तेस्रो पटक उपाधि कुम्ल्याउने दाउमा छ । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार खेलिने छ । सोही दिन अर्जेन्टिना र चिलीबीच तेस्रो स्थानका लागि पनि खेल हुनेछ । अर्जेन्टिना भने पहिलो सेमिफाइनल खेलमा ब्राजिलसँग २–० गोलले पराजित भएको थियो । 

null

बलियो चिलीविरुद्घको खेलमा पेरुका लागि २१ औं मिनेटमा एडिसन फ्लोरेजले पहिलो गोल गरेका थिए । यसैगरी ३८ औं मिनेटमा योसिमर योटुनले पेरुको अग्रता दोब्बर बनाएका थिए । खेलको अन्तिम समयमा होजे पाओलो ग्वेरेरोले पेरुका लागि तेस्रो गोल थपेका थिए । दोस्रो हाफको इन्जुरी समयमा चिलीले पेनाल्टी प्रहारको अवसर पाएको थियो । तर, चिलीका अनुभवी खेलाडी एडुआर्डो भार्गसले त्यो अवसरलाई सदुपयोग गर्न सकेनन् । 

पेरुसँग पराजित भएसँगै चिलीको लगातार तेस्रो पटक उपाधि हात पार्ने सपना पनि चकनाचुर हुन पुग्यो । ‘हामीले समूहगत चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएका छौं । हाम्रा खेलाडी लयमा छन् र टोली पनि सन्तुलित छ । त्यसैले हामी जितका हकदार थियौं’, खेलपछि पेरुका प्रशिक्षक रिकार्डो गारेकाले भने । जारी प्रतियोगितामा ब्राजिल र पेरु दोस्रो पटक भिड्न लागेका हुन् । यसअघि समूहगत चरणको खेलमा ब्राजिलले पेरुलाई ५–० गोलले हराएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =